फोटो क्याप्सन : बाढीमा परेर घाइते भएकाको उद्धार गर्दै नेपाली सेना ।काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि विभिन्न देशका ३२० पर्यटक अझै सम्पर्कविहीन रहेका छन् । बाढीमा परेर सम्पर्कविहीन भएका पर्यटकको खोजी तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको छ । तर, विभिन्न देशका ३२० पर्यटक अझै सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा अन्य पर्यटन क्षेत्रका सरोकारवाला निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धारकार्यलाई तीव्र बनाएका छन् । घाइते तथा अलपत्र परेका पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ ।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिक्मतसिंह ऐरका अनुसार विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएकाहरु सम्पर्कविहीन भएका पर्यटकमध्ये १६ देशका २६१ जनाको उद्धार गरिएको हो । उद्धार गरिएका पर्यटकमध्ये भारतका १६७, चीनका ४०, बेल्जियमका एक, बुल्गेरियाका एक, जर्मनीका चार, इटालीका तीन, माल्टाका चार, ओमानका एक, पोर्चुगलका एक, रुसका दुई, स्पेनका दुई, स्वीजरल्यान्डका दुई, टर्कीका दुई, युक्रेनका आठ र अमेरिकाका तीन जना रहेका छन् ।
यस्तै, देश र परिचय नखुलेका २१ पर्यटकको समेत उद्धार गरिएको बोर्डले जनाएको छ । बोर्डले पर्यटकको सुरक्षा पहिलो प्राथमिकतामा रहेको जनाएको छ । प्रभावित क्षेत्रमा रहेका पर्यटक तथा उनीहरूका परिवारलाई धैर्य र सतर्क रहन बोर्डको आग्रह छ ।
बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकसम्बन्धी जानकारी वा सहयोग आवश्यक परेमा बोर्डको टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

























