
काठमाडौं । भारतका प्रख्यात बालुवा कलाकार तथा पद्मश्री पुरस्कार विजेता सुदर्शन पटनायकले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएका छन् ।
उनले भारतको उडिशास्थित पुरी समुद्री तटमा नेपालको राष्ट्रिय झन्डा र बाढी प्रभावित बस्तीको दृश्य समेटिएको विशाल बालुकाकला निर्माण गरेका हुन् । कलामा ‘प्रे फर नेपाल’ अर्थात् ‘नेपालका लागि प्रार्थना’ लेखिएको छ ।
आफ्ना विद्यार्थीहरूसँग मिलेर तयार पारेको उक्त कलामार्फत पटनायकले विपद्को कठिन घडीमा नेपाली नागरिकप्रति सहानुभूति, आशा र मानवीय समर्थन व्यक्त गरेका छन् । उनले बाढीपहिरोबाट प्रभावित परिवारको सुरक्षा, शक्ति र शीघ्र पुनरुत्थानको कामना गर्दै संकटका बेला मानवता एकजुट हुनुपर्ने सन्देश दिएका छन् ।

























