
काठमाडौं । त्रिशूली नदीमा आज (आइतबार) बिहान एकाएक आएको ठूलो बाढीले गोरखा र धादिङ जोड्ने चरौंदीस्थित झोलुङ्गे पुल बगाएको छ ।
नदीको सतह बढ्दै गएपछि जोखिममा परेको पुल बाढीको तीव्र बहाव थेग्न नसकेपछि चुँडिएको हो । पुल बगेसँगै गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकाबीचको आवागमन प्रभावित भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीले पुलको संरचनामै क्षति पुर्याएको हो । पुल बगाएपछि स्थानीयका लागि नदी वारपार गर्ने महत्वपूर्ण मार्ग अवरुद्ध भएको छ ।
त्रिशूलीको उग्र बहावले चरौंदीमा मात्रै नभई धादिङको धवादीस्थित अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ ।
गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीका अनुसार नदीमा बाढीको बहाव अत्यधिक बढेपछि पुल नै बग्ने अवस्था आएको हो । पुलमा क्षति पुगेपछि त्रिशूली किनारका बस्ती तथा अन्य स्थानीय पूर्वाधारसमेत जोखिममा परेका छन् ।

























