
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न क्षेत्रमा विपद्मा परी मृत्यु हुनेको संख्या साढे सात सय नाघेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार दिउँसो १ बजेसम्म देशभरबाट ७५२ जनाको शव फेला परेको छ । बाढी तथा विपद्मा परी अझै २ हजार ५०२ जना सम्पर्कविहीन छन् ।
प्राधिकरणका अनुसार बाढी तथा विपद्बाट सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ । चितवनमा मात्रै २५२ जनाको शव फेला परेको छ ।
यस्तै, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन रहेका २ हजार ५०२ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार गरिएको छ । बाढी र विपद्का कारण भएको मानवीय क्षतिको विवरण अझै संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

























