
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडकखण्ड अस्तव्यस्त बनेका छन् । यातायात प्रभावित भएको छ ।
विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएको हो ।
कोशी प्रदेशअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । झापादेखि ताप्लेजुङ जोड्ने उक्त सडकखण्डमा तत्काल वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ ।
बागमती प्रदेशका अधिकांश मुख्य सडकमा पनि वर्षा र पहिरोको प्रभाव देखिएको छ । काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ । दिउँसो भने सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिने जनाइएको छ ।
मकवानपुरमा कान्तिलोकपथअन्तर्गत हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडकखण्डमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा आवागमन बन्द गरिएको हो ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
नुवाकोटका अन्य मुख्य राजमार्गसँगै पासाङल्हामु सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।
धादिङको पृथ्वी राजमार्ग पनि पहिरोका कारण प्रभावित भएको छ । बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
यस्तै, कर्णाली प्रदेशको मुगुमा पनि पहिरोले सडक अवरुद्ध गरेको छ । छायाँनाथ रारा नगरपालिका–७ झ्यारीखोला र टोक्ला क्षेत्रमा पहिरो खसेपछि नाग्म–मुगु–गमगढी सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ ।
प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट आवश्यक प्रयास भइरहेको छ । वर्षाका कारण थप पहिरो तथा बाढी आउन सक्ने जोखिम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

























