
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीमा परी करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
विपद्पछि नेपालमा दुई हजार ५०० भन्दा बढी व्यक्ति बेपत्ता रहेको र ७८१ जनाको मृत्यु भएको नेपाल सरकारका अधिकारीहरूले पुष्टि गरेका छन् ।
गत बुधबार बिहान हिलोसहित आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका बस्तीमा ठूलो भौतिक क्षति पुर्याएको थियो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले एबीसीको ‘दिस विक’ कार्यक्रममा नौ जना अमेरिकी नागरिकको उद्धार गरिएको जानकारी दि ए। उनका अनुसार विपद्ले प्रभावित क्षेत्रको दुर्गम अवस्थाका कारण भरपर्दो सूचना प्राप्त गर्न कठिन भइरहेको छ। यद्यपि अमेरिकी सरकारको खोजी तथा उद्धारप्रतिको प्रतिबद्धता यथावत् रहेको उनले बताए ।
संयुक्त राज्य अमेरिका र क्यानडाले राहत तथा उद्धारका लागि ३६ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। बेलायतले ६८ लाख डलर सहयोग प्रस्ताव गरेको छ भने संयुक्त राष्ट्रसङ्घले आपत्कालीन कोषबाट २५ लाख डलर सहायता जारी गरेको छ ।
अमेरिकी सहयोगको केही रकम सडक मर्मत तथा दुर्गम क्षेत्रमा खाद्यान्न र अन्य राहत सामग्री पुर्याउन विशेष यातायात व्यवस्था परिचालनमा प्रयोग गरिने पिगटले बताए ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उक्त विपद् हिमताल फुटेका कारण आएको हो। चिनियाँ विज्ञहरूले पनि नेपालको लिरुङ शिखरको दक्षिणी ढलानमा रहेको हिमताल फुटेको बताएका छन् ।

























