
काठमाडौं । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ ।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत प्राविधिक तथा विज्ञ टोली परिचालन गरी घटनास्थलको रेकीलगायतका काम भइरहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी र दुई जना ज्यालादारी कर्मचारी छन् ।
त्यस्तै, आयोजनाको निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना, सीडब्लुईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना सम्पर्कविहीन छन् ।
भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना भने दुई दिनको प्रयासपछि आफैं बाहिर निस्कन सफल भएका थिए । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको इप्पानले जनाएको छ ।

























