
इलाम । पहिरोका कारण झण्डै दुई महिनादेखि अवरुद्ध मेची राजमार्गमा यातायात सञ्चालनमा आएको छ । इलाम नगरपालिका–९ अन्तर्गतको इलाम–राजदुवाली सडकखण्ड मर्मत तथा पुनःस्थापनापछि सोमबार बिहानदेखि साना सवारीसाधनका लागि खुला गरिएको हो ।
गत असार २३ गतेको भारी वर्षापछि गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय इलामले लगातार मर्मत तथा पुनःस्थापनाको काम गरेपछि तत्कालका लागि साना यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न सक्ने अवस्था बनेको हो ।
सडक डिभिजन इलामका कार्यालय प्रमुख इन्जिनियर पवन भट्टराईका अनुसार माथिबाट खसेको पहिरो हटाउनुका साथै खोलाको क्षेत्रमा टेवा पर्खाल निर्माण गरिएपछि सडक खुलाइएको हो । यद्यपि, सडकको पुनःस्थापनाको काम पूर्णरूपमा सकिएको छैन ।
अहिले नाली निर्माण, थप पर्खाल निर्माणलगायतका काम बाँकी रहेकाले ठूला तथा मालबाहक सवारीसाधनलाई भने तत्काल सञ्चालन गर्न नदिइने भएको छ । ठूला सवारीसाधनका लागि निर्माण कार्य पूरा भएपछि मात्रै सडक खुला गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।
ठूला तथा मालबाहक सवारीसाधनलाई हाल वैकल्पिक मार्गका रूपमा तिल्केनी–सिमलगोला सडक र मेची करिडोरअन्तर्गत केचना–कञ्चनजंघ सडक प्रयोग गर्न आग्रह गरिएको छ । मेची राजमार्ग खुलेसँगै इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ तथा झापाबाट ती जिल्लातर्फ जाने यात्रु र सवारीसाधनलाई सहज भएको छ । राजमार्ग बन्द हुँदा यात्रु तथा सवारीसाधनले वैकल्पिक तथा अस्थायी सडकको भर पर्नु परेको थियो ।
राजमार्ग अवरुद्ध भएपछि तिल्केनी–सिमलगोला सडकखण्डमा माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो । त्यसैगरी मेची करिडोरअन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा पनि अस्थायी डाइभर्सन बनाएर साना सवारी सञ्चालन गरिँदै आएको थियो ।
तर, बर्खाका बेला खोलामा आएको बाढीले पटक–पटक डाइभर्सन बगाउने गरेपछि यात्रु र व्यवसायीले लामो समयदेखि समस्या झेल्दै आएका थिए । घाम लाग्दा वैकल्पिक सडक सञ्चालन हुने र वर्षा भएपछि पुनः अवरुद्ध हुने अवस्थाले इलामबाट झापातर्फ आवतजावत गर्ने यात्रुलाई थप सास्ती भएको थियो ।
मेची राजमार्ग लामो समय अवरुद्ध हुँदा इलामसहित पाँचथर र ताप्लेजुङबाट झापातर्फ जाने सवारीसाधन माइखोला वारिसम्म र झापाबाट आउने सवारीसाधन माइखोला पारिसम्म मात्र पुग्ने अवस्था थियो । यसअघि गत असोज १८ गते वर्षासँगै पहिरो गएर अवरुद्ध भएको यही सडकखण्ड १४ दिनपछि सञ्चालनमा आएको थियो । तर, यसपटकको अवरोध भने मेची राजमार्गमा हालसम्मकै लामो भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

























