
इलाम । इलामको पुवाखोलामा आज (सोमबार) देखि बेलिब्रिज जडान सुरु गरिएको छ । इलाम नगरपालिका–९ भाङटार र वडा ११ सोयाक जोड्ने उक्त बेलिब्रिज २३० फिट लामो र १४ फिट चौडा छ । संघीय सरकारको दुई करोड २० लाख ३४ हजार २३१ रुपैयाँ लागतमा बेलिब्रिज जडान सुरु गरिएको हो ।
सडक डिभिजन कार्यालय, इलामका प्राविधिक अर्जुन घिमिरेका अनुसार दुई साताभित्र जडान सम्पन्न गरी पुल सञ्चालनमा ल्याउने तयारी छ ।
बेलिब्रिज जडानका लागि भारतबाट प्राविधिक टोली नेपाल आइपुगेको छ। पुल जडानका लागि आवश्यक सिभिल संरचना भने गत आर्थिक वर्षमै तयार भइसकेको थियो। भारत सरकारको अनुदानमा उक्त बेलिब्रिज नेपाललाई प्राप्त भएको हो ।
बेलिब्रिज जडानको काम सुरु भएपछि स्थानीय उत्साहित भएका छन् । पुल सञ्चालनमा आएपछि यो सडक मेची राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने इलाम नगरपालिका–९ का प्रकाश नेपालले बताए । बेलिब्रिज निर्माण सम्पन्न भएपछि वर्षायाममा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा यातायात सञ्चालन सहज र नियमित हुने अपेक्षा गरिएको छ ।
मेची राजमार्गको वैकल्पिक सडकका रूपमा लिइएको उक्त सडक इलामदेखि बिर्तामोडसम्म करिब ५० किलोमिटर दूरीको छ । इलाम खण्डअन्तर्गत माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी १७ किलोमिटरमध्ये १४ किलोमिटर सडक निर्माण भइरहेको छ ।

























