
ताप्लेजुङ । ताप्लेजुङमा जारी चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार भएको अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा–११ सेमिफाइनलमा पुगेको छ ।
प्रतियोगिताको सेमिफाइनलमा यसअघि नै सलहेश युवा क्लब, फिदिम स्पोर्टिङ क्लब र जर्जियन युनाइटेड फुटबल क्लबले स्थान सुरक्षित पारेका छन् ।
फुङ्लिङमा भएको खेलमा झापा–११ ले पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै झापा सेमिफाइनलमा पुगेको हो । झापाको जितमा आयुष घनाल नायक बने । उनले खेल सुरु भएको पाँचौँ मिनेटमै गरेको गोल नै टोलीको जितका लागि निर्णायक बन्यो ।
अब झापा–११ ले फाइनल प्रवेशका लागि बुधबार हुने दोस्रो सेमिफाइनलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबको सामना गर्नेछ । फिदिमले यसअघि चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।
सोमबारको खेलमा झापा–११ बाट राष्ट्रिय टोलीका अनुभवी खेलाडीहरू आयुष घनाल, आरोन थापा मगर, देवेन्द्र तामाङ र सुमित श्रेष्ठ मैदान उत्रिएका थिए भने नेपाल पुलिस क्लबका तर्फबाट राम बाजी, सुजन बलम्पाकी, महादेव गुरुङ र विजय उराव लगायतका युवा खेलाडीले प्रदर्शन गरेका थिए ।
यसैबीच, प्रतियोगिताको पहिलो सेमिफाइनल खेल मंगलबार गत वर्षको विजेता सिरहाको सलहेश युवा क्लब र भारतको कालिम्पोङस्थित जर्जियन युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सलहेशले सातदोबाटो फुटबल क्लबलाई र जर्जियन युनाइटेडले आयोजक ताप्लेजुङ–११ लाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन् ।
लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ भने विधागत उत्कृष्ट खेलाडीहरूले जनही १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

























