
दाङ । नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नदी कटान तीव्र बनेपछि स्थानीय बस्ती र खेतीयोग्य जमिन जोखिममा परेका छन् ।
लगातार कटान गर्दै नदीको धार बस्ती नजिकै पुगेपछि सुस्ताको थारू टोलका स्थानीय घर तथा सामान सुरक्षित स्थानमा सार्न थालेका छन् । नारायणी नदी नियन्त्रणका लागि निर्माण गरिएको बाँध भत्किएपछि नदीको पानी बस्ती र आसपासका कृषि क्षेत्रमा पस्न थालेको स्थानीयले बताएका छन् । नदीको पानी पस्दा करिब २० बिघा क्षेत्रफलमा लगाइएको उखु तथा धानबालीमा क्षति पुगेको छ ।
सुस्ता बचाउ अभियानमा लामो समयदेखि सक्रिय अवधेश कुशवाहाका अनुसार नारायणीको कटान थारू बस्तीबाट करिब ८० मिटरको दूरीमा पुगेको छ । कटान निरन्तर अघि बढेपछि स्थानीयमा बस्ती नै विस्थापित हुन सक्ने चिन्ता बढेको छ ।
नदीको पानीको सतह सामान्य रूपमा बढ्दा पनि बस्तीमा पानी पस्ने अवस्था बनेको स्थानीयको भनाइ छ । कटानका कारण साना घर तथा छाप्रा जोखिममा परिसकेका छन् । कतिपय परिवारले घरमा रहेका आवश्यक सामान सुरक्षित स्थानमा लैजान थालेका छन् ।
नदीले धार परिवर्तन गर्दै निरन्तर जमिन कटान गरिरहेकाले थप खेतीयोग्य जमिनमा समेत क्षति पुग्ने सम्भावना बढेको छ । हालसम्म ठूलो मानवीय क्षति नभए पनि घर, जमिन र कृषि उत्पादनमा क्षति भइरहेको स्थानीयले बताएका छन् ।
सुस्तामा बढ्दै गएको जोखिमका बारेमा लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा समेत छलफल भएको छ । बैठकमा नदी कटान नियन्त्रण, जोखिममा रहेका बस्तीको संरक्षण तथा सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका विषयमा आवश्यक तयारी र समन्वयमा जोड दिइएको प्रदेश सरकारले जनाएको छ ।
नदी कटान तत्काल नियन्त्रण गर्न नसकिए सुस्ताका थप बस्ती र ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन प्रभावित हुन सक्ने स्थानीयको चिन्ता छ ।

























