सुनसरी र उदयपुरमा दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार ०७:२७

विराटनगर । सुनसरी र उदयपुरमा भएका अलगअलग दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

सुनसरीको हरिनगर गाउँपालिका–४ स्थित हरिनगरा–बसन्तपुर भित्री सडक खण्डमा भारतीय र नेपाली नम्बर प्लेटका दुईवटा मोटरसाइकल ठोक्किएर सोमबार साँझ ६ः३५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दक्षिण बसन्तपुरबाट उत्तर हरिनगरातर्फ आउँदै गरेको बीआर ५० एसी ०७५५ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको १३ प १८२० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीको भनाइ छ ।

Advertisement

दुर्घटनामा भारतीय मोटरसाइकलका चालक हरिनगर–५ का अन्दाजी ३५ वर्षीय सञ्जय मण्डलको मृत्यु भएको छ । गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याउनसाथ साँझ ७ः२५ बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर को १३ प १८२० नम्बरको मोटरसाइकलका चालक चालक सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–५ का अन्दाजी ४० वर्षीय कलामुद्विन अन्सारी र पछाडि सवार अन्दाजी ४५ वर्षीय जलामुद्विन अन्सारी गम्भीर घाइते भएका छन् । दुवै जनाको विराट नर्सिङमै उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, उदयपुरको कटारी नगरपालिका–४ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको छ । काठमाडौंबाट झापातर्फ जाँदै गरेको मे ८ प ४८९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई सोमबार दिउँसो १ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक इलामको माई नगरपालिका–७ घर भएका अन्दाजी ४० वर्षीय मनीराज मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर अवस्थाका मगरको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा सोमबार साँझ ५ः४० बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा परेर साइकल यात्री कटारी–४ का अन्दाजी ४७ वर्षीय तिलककुमार दनुवार घाइते भएका छन् । सामान्य अवस्थाका उनको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।

साइकलले अचानक बाटो क्रस गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटरसाइकल र साइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×