
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेको संख्या एक हजारनजिक पुगेको छ ।
खोज तथा उद्धारका क्रममा हालसम्म ९ सय ७४ जनाको शव फेला परिसकेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि ४ हजार ५ सय ९९ जना अझै सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जना पनि रहेका छन् । बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायलगायत सम्बन्धित निकायबाट प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
फेला परेका शवमध्ये हालसम्म ५१ जनाको शव परिवार तथा आफन्तलाई बुझाइएको छ । पहिचान खुलेका शव सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यस्तै, पहिचान तथा अन्य आवश्यक प्रक्रिया पूरा गरी महिला ८८, पुरुष १ सय ९ र पहिचान नखुलेका २ सय १६ गरी ४ सय १३ जनाको शव व्यवस्थापन गरिएको छ । प्रहरीले व्यवस्थापन गरिएका शवलाई जमिनमा गाडिएको जनाएको छ ।
बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ । सुरक्षा निकायले फेला परेका शवको पहिचान, परिवारलाई हस्तान्तरण तथा बेपत्ताको खोजीलाई निरन्तरता दिइरहेका छन् ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतको कामसँगै बेपत्ताको अवस्था पत्ता लगाउने प्रयास भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए । हालसम्म ९ सय ७४ जनाको शव फेला परिसकेको बताउँदै काफ्लेले भने ४ हजार ५ सय ९९ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिए ।

























