
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ । विशेषगरी बागमती प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डमा पहिरो र बाढीका कारण आवागमन रोकिएको छ ।
नेपाल प्रहरीका अनुसार धादिङमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । बेनीघाट रोराङ गाउँपालिका–७ को कृष्ण भिर र गजुरी गाउँपालिका–२ को परेवा भिरमा पहिरो खसेपछि भदौ १४ गतेदेखि राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन । ती स्थानमा पहिरो खस्ने क्रम अझै जारी रहेको प्रहरीले जनाएको छ ।
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा पहिरो खसेपछि कान्ति लोकपथ पनि अवरुद्ध भएको छ । सोमबार दिउँसो पहिरो खसेपछि उक्त सडक खण्डमा सवारी आवागमन बन्द रहेको हो ।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन नदिने निर्णय गरिएको छ । दिउँसो भने सडकको अवस्था र जोखिम मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ ।
नुवाकोटको बेत्रावतीस्थित सिमिटारमा बाढी आएपछि पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ । टोखा–छहरे सडक खण्डको घट्टेखोलामा समेत बाढी र पहिरोको जोखिम बढेपछि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पनि लामो समयदेखि अवरुद्ध छ । रसुवाका अन्य मुख्य सडकमा समेत बाढीका कारण भदौ १० गतेदेखि यातायात प्रभावित भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरोधका कारण यात्रु तथा मालवाहक सवारी साधन बीच बाटोमै रोकिने अवस्था आएको छ । प्रहरीले जोखिमयुक्त सडकमा जबर्जस्ती यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।



















