बाढीमा बेपत्ता २५ जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिँदै

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १६, मंगलबार १०:५०

पोखरा । भोटेकोशी बाढीमा बेपत्ता भएका धादिङको नीलकण्ठ नगरपालिकाका २५ जनाको कुशको शव बनाएर अन्त्येष्टि गर्ने तयारी गरिएको छ । उनीहरूमध्ये नीलकण्ठ–९ की गायत्री लम्सालको मात्र शव काठमाडौंस्थित शिक्षण अस्पतालमा फेला परेको छ ।

नीलकण्ठ–९, १२ र ३ का २६ जना आफन्त र छरछिमेक मिलेर गोसाइँकुण्ड गएका थिए । बेत्रावती बजारबाट उनीहरू बाढीमा परेर बेपत्ता भएका थिए । गायत्रीको शव फेला परे पनि उनका श्रीमान् शिवहरि लम्सालसहित अन्य २५ जनाको अवस्था अझै अज्ञात छ ।

Advertisement

परिवारले गायत्रीको शवसँगै उनका बेपत्ता श्रीमान् शिवहरिको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिसकेको छ । आफन्त गोकर्ण लम्सालका अनुसार जीवितै फेला पर्ने सम्भावना नरहेको निष्कर्षमा पुगेपछि यस्तो निर्णय गरिएको हो ।

‘काठमाडौं, चितवन, नवलपुर हुँदै पोखरासम्म शव खोज्यौँ । तर, एक जनाको मात्र शव भेटियो। अब सास पाउने आशा लगभग मरिसकेको छ,’ गोकर्णले बताए । बेपत्ता भएकाहरूले बेत्रावतीबाट घरमा फोन गरी बाढी आएको र आफूहरू एउटा घरमा बसेको जानकारी दिएका थिए ।

बस भने बाढीले बगाइसकेको उनीहरूले बताएका थिए । त्यसपछि उनीहरूसँग सम्पर्क टुटेको आफन्तले बताएका छन् । बेत्रावतीमा एउटै घरबाट २४ वटा शव भेटिएको खबर आएपछि आफन्तले ती शव आफ्नै परिवारका सदस्य हुन सक्ने आशा गरेका थिए । तर, पहिचान हुन नसकेपछि उनीहरू थप निराश भएका छन् ।

सोही समूहमा रहेका नीलकण्ठ–३ का तुलसी र ईश्वरी नामका श्रीमान्–श्रीमतीको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको आफन्तले बताएका छन् । बेपत्ता २६ जनामध्ये एक जनाको शव भेटिएपछि बाँकी २५ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गर्ने तयारी गरिएको हो । परिवारले प्राप्त गरेको भिडियो, फोन सम्पर्क र घटनास्थलको अवस्थाका आधारमा उनीहरू जीवित भेटिने सम्भावना निकै न्यून रहेको निष्कर्ष निकालेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×