
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । मृतकको संख्या एक हजार पुग्न लागेको हो ।
यो समाचार तयार पार्दासम्म ९ सय ८७ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीपछि विभिन्न प्रभावित जिल्लामा जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म ९ सय ८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बाढीमा ज्यान गुमाउनेको संख्या एक हजारनजिक पुगे पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार हाल ३ हजार ९ सय १६ जनासँग सम्पर्क स्थापित हुन सकेको छैन ।
सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्थानीय बासिन्दा, जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा विदेशी नागरिकसमेत छन् । नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना अझै सम्पर्कमा आएका छैनन् । त्यस्तै भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
जिल्लागत विवरणअनुसार नुवाकोटमा सबैभन्दा धेरै १ हजार ५ सय ५८ जना सम्पर्कविहीन छन्। रसुवामा करिब ८ सय ६५ जना सम्पर्कविहीन छन् । विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ६ सय ३९ जनाको समेत अवस्था पत्ता लाग्न सकेको छैन ।
बाढीमा विदेशी नागरिक पनि ठूलो संख्यामा प्रभावित भएका छन् । प्राधिकरणका अनुसार ५ सय ८३ जना विदेशी नागरिक सम्पर्कविहीन छन् । विदेशी पर्यटकसँगै भ्रमणमा गएका १ सय ६४ जना नेपालीसमेत सम्पर्कविहीन रहेको जनाइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना र क्वारेन्टाइन कार्यालयका तीन जनाको पनि अवस्था अज्ञात छ ।
बाढीबाट प्रभावित जिल्लाहरूमा खोजी तथा उद्धारको काम जारी रहेकाले मृतक तथा सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने देखिएको छ । बाढीमा परी २ सय ७९ जना घाइते भएका छन् भने सरकारले हालसम्म ११ हजार ८ सय १४ जनाको उद्धार गरिसकेको छ ।
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३ सय २१ जनाको रहेको छ । त्यसपछि नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा अहिले उद्धारका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरू खोज तथा उद्धारसँगै राहत वितरण र प्रभावितको व्यवस्थापनमा खटिएका छन् । प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने, बेपत्ताको खोजी गर्ने तथा फेला परेका शवको पहिचान र व्यवस्थापन गर्ने काम एकसाथ अघि बढाइएको छ ।

























