
काठमाडौं । नेपाल–चीन सीमा नजिक भदौ १० गते आएको हिमपहिरो र त्यसपछि भोटेकोशी नदीमा आएको बाढीले करिब १६ लाख मानिस प्रभावित भएको सरकारले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो स्थिति प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या हालसम्म करिब १ हजार १ सय पुगेको छ । करिब ४ हजार जना बेपत्ता छन् ।
प्राधिकरणले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाका रूपमा वर्गीकरण गरेको छ । धादिङ, गोर्खा र चितवन मध्यम प्रभावित जिल्लामा परेका छन् । भोटेकोशी–त्रिशूली नदी करिडोरमा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।
देशका ६२ जिल्लाका करिब ४ हजार जना बेपत्ता भएको जनाइएको छ । बेपत्तामध्ये ६२ प्रतिशत स्वदेशी पर्यटक तथा नेपालीसहितको समूह, १७ प्रतिशत सरकारी कर्मचारी र १५ प्रतिशत विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ ।
उद्धारतर्फ ११ हजार ८१४ जनालाई सकुशल निकालिएको छ । उद्धार गरिएकामध्ये २५३ जना विदेशी नागरिक छन् । हवाई माध्यमबाट मात्रै ३ हजार ७०२ जनाको उद्धार गरिएको छ भने ५७३ वटा उडान सञ्चालन भएका छन् ।
खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार १११ सुरक्षाकर्मी परिचालन भएका छन् । भारत, चीन र दक्षिण कोरियाका टोलीसमेत उद्धार कार्यमा सहभागी छन् ।
बाढीले ४१ वटा पक्की पुल पूर्ण रूपमा बगाएको छ भने चारवटा पुलमा क्षति पुगेको छ । नुवाकोटमा १ हजार २६७ घर पूर्ण रूपमा र १ हजार २५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । भोटेकोशी–त्रिशूली करिडोरका प्रभावित क्षेत्रमा ४ हजार ६८९ भवन जोखिममा परेको स्याटेलाइट म्यापिङबाट देखिएको छ ।
रसुवाको गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३ हजार ७०२ घरधुरीका १४ हजार ४६१ नागरिक सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भएका छन् । जिल्लाका मुख्य राजमार्गसमेत बन्द छन् ।
बाढीले नेपाल टेलिकमका ११० र एनसेलका ७८ मोबाइल टावरमा क्षति पुर्याएको छ । विभिन्न जलविद्युत् तथा सौर्य आयोजनाका गरी ७८३.३८५ मेगावाट जडित क्षमता प्रभावित भएको छ । सबस्टेसन र प्रसारण लाइनमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयका ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन् । आठ विद्यालय पूर्ण रूपमा र आठ विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
स्वास्थ्यतर्फ रसुवाका स्याफ्रुबेँसी र टिमुरे स्वास्थ्य चौकी, रसुवागढीस्थित हेल्थ डेस्क तथा मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त भएका छन् । खानेपानीतर्फ विदुर आयोजनाको करिब ४.५ किलोमिटर पाइपलाइन र तीन वटासम्प वेल बगेका छन् । यसबाट करिब ४ हजार घरधुरी प्रभावित भएका छन् ।
बाढीले लाङटाङ राष्ट्रिय निकुञ्जका विभिन्न कार्यालय तथा भवन, कृषि विकास केन्द्र र प्लान्ट क्वारेन्टाइन कार्यालयमा समेत क्षति पुर्याएको छ । प्राधिकरणले क्षतिको थप विवरण संकलन भइरहेको जनाएको छ ।

























