
काठमाडौं । भोटेकोशी बाढीपछि विभिन्न स्थानबाट संकलन गरिएका र पहिचान हुन नसकेका शवको काठमाडौंमा व्यवस्थापन गरिएको छ ।
प्रहरीका अनुसार बाढीपछि संकलन गरिएका शवमध्ये ८८ शव गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको वन क्षेत्रमा व्यवस्थापन गरिएको हो । पहिचान खुल्न नसकेका तथा बेवारिसे अवस्थामा रहेका शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ को पहिलो संशोधनअनुसार शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
शव व्यवस्थापन गर्नुअघि भविष्यमा पहिचान खुलाउन आवश्यक पर्ने डीएनए नमुनालगायतका प्रमाण सुरक्षित राखिएको छ । बाढीपछि संकलन गरिएका शवहरू केही समय महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका थिए । पहिचानको प्रयास गर्दा पनि पहिचान खुल्न नसकेपछि कानुनी प्रक्रिया पूरा गरेर शवको व्यवस्थापन गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सुरक्षित राखिएको डीएनए नमुना र अन्य विवरणका आधारमा भविष्यमा शवको पहिचान खुलेमा आफन्तलाई उपलब्ध गराउन सकिनेछ । त्यसका लागि आफन्तले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ ।
शव व्यवस्थापन अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)को प्रोटोकलअनुसार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

























