‘त्यसपछि फोन आएन’ : कहाँ होलान् मोरङका मामा–भान्जा ?

Share this
716shares
मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ भाद्र १७, बुधबार १०:१६

विराटनगर । ‘हामी अहिले टिमुरे पुग्यौँ, अब १० मिनेटमा भोटेखोला पुग्छौँ।’

भोटेकोशीमा विनाशकारी बाढी आएको दिन गत बुधबार बिहान करिब ८ः४४ बजेतिर सोमप्रसाद कट्टेलले परिवारलाई फोनमा यति नै भनेका थिए । रसुवामा भोटेकोशीको बाढी आउनुअघि भएको त्यो छोटो कुराकानी नै परिवारका लागि अहिलेसम्मको अन्तिम हो ।

Advertisement

त्यसपछि सोमप्रसादको फोन आएन ।

विराटनगर महानगरपालिका–५ घर भएका सोमप्रसाद काठमाडौंमा रहेको सम्राट ट्राभल्स एन्ड टुरिजम ट्रेकिङ सेन्टरमा कार्यरत थिए । घुमफिरका लागि रसुवा पुगेका उनी भोटेकोशीमा आएको भीषण बाढीपछि परिवारको सम्पर्कबाट टाढिएका छन् । बाढी गएको दिनदेखि उनको अवस्था अज्ञात छ ।

फोनमा उनले आफूहरू टिमुरे पुगेको बताएका थिए । अब केही मिनेटमै भोटेखोला पुग्ने जानकारी पनि दिएका थिए । परिवारले त्यसपछि पनि उनको फोन आउने अपेक्षा गरेको थियो । तर, त्यो अपेक्षा अहिलेसम्म पूरा भएको छैन ।

सोमप्रसादसँगै उनका भान्जा बेलबारी नगरपालिका–११ घर भएका अनोज धमला पनि घुम्न गएका थिए । बाढी प्रभावित क्षेत्रमा पुगेपछि दुवै जना सम्पर्कविहीन बने ।

सोमप्रसादकी भाउजू कुन्ता कट्टेलका लागि त्यो बिहानको फोन अहिले सम्झनामा मात्र बाँकी छ । ‘उहाँले हामी टिमुरे पुग्यौँ, अब १० मिनेटमा भोटेखोला पुग्छौँ भन्नु भएको थियो । त्यसपछि फोन सम्पर्क नै हुन सकेन,’ कुन्ता भन्छिन् ।

परिवारले सुरुमा उनीहरू सुरक्षित स्थानमा पुगेका होलान् भन्ने आशा गर्‍यो । बाढीका कारण फोन नलागेको हुन सक्ने अनुमान पनि गरियो । तर, घण्टा बित्दै गए, दिन बित्दै गए । कुनै खबर आएन । आशा बिस्तारै चिन्तामा बदलिँदै गयो ।

एकातिर आफन्त बेपत्ता हुनुको पीडा छ । अर्कोतिर घटनाको वास्तविक अवस्था थाहा नहुँदा परिवारसँग पर्खनुबाहेक अर्को विकल्प छैन । प्रत्येक फोनको घण्टीमा उनीहरू केही सुखद खबरको अपेक्षा गर्छन् । तर, अहिलेसम्म त्यो खबर आएको छैन ।

सोमप्रसादको खोजीमा उनका दाजु पशुराम कट्टेल चितवनको देवघाटसम्म पुगे । शवको फरेन्सिक परीक्षण तथा डीएनए नमुना संकलनपछि सुरक्षित रूपमा व्यवस्थापन गरिएको जानकारी पाएपछि उनी त्यहाँ पुगेका थिए ।

तर, डीएनए परीक्षणको नतिजा नआएसम्म उक्त शव कसको हो भन्ने यकिन गर्न नसकिने भयो । उनी फर्किए । अब परिवारका लागि डीएनए परीक्षणको परिणाम नै अर्को प्रतीक्षा बनेको छ ।

त्यो परिणामले सोमप्रसादको अवस्थाका बारेमा केही जवाफ दिनेछ । तर, जवाफ जस्तोसुकै होस्, परिवार त्यसलाई सुन्न बाध्य छ ।

सोमप्रसादको खोजीमा उनका भाइ लेखनाथ कट्टेल रसुवाको धुन्चेसम्म पुगे । सम्भावित स्थानमा खोजी गरे । आफन्तहरू पनि सम्भावित सबै ठाउँमा पुगेका छन् । तर, अहिलेसम्म उनको अवस्थाका बारेमा कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन । समय बित्दै जाँदा परिवारको बेचैनी झन् बढिरहेको छ ।

‘लास भेटिन्छ कि साससहित फर्किन्छन् भन्ने आशामा छौँ’ सोमप्रसादको परिवारको मनोदशा यही एउटा वाक्यमा अडिएको छ । उनी जीवितै भेटिएलान् भन्ने आशा अझै मरेको छैन । तर, कतै शव पहिचान गर्नुपर्ने अवस्था आउँछ कि भन्ने डर पनि उत्तिकै छ ।

परिवारका लागि अहिले सबैभन्दा ठूलो कुरा सोमप्रसादको अवस्थाको सत्य जानकारी पाउनु हो । उनी जीवित भए उद्धार गरेर घर फर्काउन सकियोस् भन्ने चाहना छ । कुनै अप्रिय अवस्था भइसकेको भए पनि कम्तीमा शवको पहिचान गरी अन्तिम संस्कार गर्न पाऊँ भन्ने परिवारको अर्को अपेक्षा छ ।

भोटेकोशीको बाढीले धेरै परिवारलाई यस्तै अनिश्चित प्रतीक्षामा छाडेको छ । कतै आफन्तको फोन आउने आशा छ, कतै उद्धार गरिएकाहरूको सूचीमा नाम भेटिने प्रतीक्षा छ । कतै अस्पताल र शव राखिएका स्थानसम्म आफन्तहरू आफ्ना मान्छेको खोजीमा भौँतारिरहेका छन् ।

‘हामी अहिले टिमुरे पुग्यौँ, अब १० मिनेटमा भोटेखोला पुग्छौँ ।’ बाढी आउनुअघि सुनिएको सोमप्रसादको यही आवाज परिवारको स्मृतिमा अडिएको छ । त्यसपछि उनी कहाँ पुगे, के भयो र अहिले कहाँ छन् ? भन्ने प्रश्नको उत्तर अझै आएको छैन । दिन गन्दै र फोन कुर्दै अझै पनि मनको कुनै कुनामा सोमप्रसाद फर्किने आशा बोकेर परिवार भने त्यही उत्तरको प्रतीक्षामा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×