मानगढमा राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १७, बुधबार ११:४४

विराटनगर । विराटनगर महानगरपालिका–३ मानगढस्थित श्री राधाकृष्ण मन्दिरमा आयोजना हुने ३२औँ राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमसहित रथयात्रा आयोजना गर्न लागिएको हो ।

रथयात्रा मूल समारोह समितिका अनुसार भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी मनाइनेछ । त्यसको भोलिपल्ट अर्थात् भदौ २० गते शनिबार राधाकृष्णको रथलाई नगर परिक्रमा गराइनेछ । रथयात्रा मूल समारोह समितिका संयोजक पशुपतिनाथ रेग्मीका अनुसार रथयात्रा बिहान ८ः३० बजे मानगढस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएर दिउँसो १२ बजे सम्पन्न हुनेछ ।

Advertisement

रथयात्रामा सहभागी भक्तजनका लागि मन्दिर परिसरमा दिउँसो १२ बजेदेखि विशाल भण्डाराको समेत व्यवस्था गरिएको उनले बताए । रथयात्रालाई लक्षित गरी समितिले यसअघि नै विभिन्न कार्यक्रम सुरु गरिसकेको छ ।

भदौ १२ गते उपनयन (व्रतबन्ध) र १३ देखि १५ गतेसम्म सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । रथयात्राको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमसमेत गरिएको छ ।

बाढी तथा अन्य विपद्बाट प्रभावित परिवार र अस्पतालहरूमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा बुधबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको समितिले जनाएको छ । रथयात्राको पूर्वसन्ध्यामा भदौ १८ गते बिहीबार दिउँसो मोटरसाइकल र्‍याली निकालिनेछ ।

र्‍यालीमार्फत रथयात्राको प्रचारप्रसार गर्नुका साथै रथ जाने मार्गमा आवश्यक व्यवस्थापनका लागि सहयोग पुर्‍याइने जानकारी रेग्मीले दिए । भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीका दिन भने मन्दिरमा दिनभर विशेष पूजा.आराधना तथा हरिनाम संकीर्तन हुनेछ । मध्यरातमा भगवान् श्रीकृष्णको महाअभिषेक, कथा वाचन र आरतीसहित जन्मोत्सव मनाउने कार्यक्रम तय गरिएको संयोजक रेग्मीको भनाइ छ ।

यस वर्ष रथयात्राका लागि नयाँ र आकर्षक रथ निर्माण गरिएको समितिले जनाएको छ । उक्त रथ करिब २१ फिट अग्लो, १५ फिट चौडा र १९ फिट लामो रहेको छ । रथको जुवाको भाग करिब ८ फिटको रहेको समितिले जनाएको छ ।

राधाकृष्णको रथ विराटनगरका मुख्य सडक तथा विभिन्न चोक हुँदै नगर परिक्रमा गर्नेछ । रथयात्रामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि ठूलो संख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।

रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित निकायसँग समन्वय गरी यातायात तथा सुरक्षा व्यवस्थापनको तयारीसमेत अघि बढाइएको समिति संयोजक रेग्मीले बताए । विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रा पनि प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×