
नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। बाढी प्रभावित विदुर नगरपालिका र किस्पाङ गाउँपालिकाका सबै विद्यालय बन्द छन्। बेलकोटगढी र तारकेश्वर गाउँपालिकाले पनि प्रभावित क्षेत्रका शैक्षिक संस्था तत्काल सञ्चालन गर्न नसकिने जनाएका छन्।
बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक सम्पर्कविहीन हुनुका साथै विद्यालय, सडक र पुलमा क्षति पुगेकाले तत्काल विद्यालय सञ्चालन गर्ने अवस्था नरहेको विदुर नगरप्रमुख राजन श्रेष्ठले बताए। उनका अनुसार नदी वारपार गर्न सक्ने अवस्था र जनजीवन सामान्य भएपछि मात्रै विद्यालय सञ्चालन गरिनेछ।
विदुर नगरभित्रका ८३ विद्यालयमध्ये करिब एक दर्जन विद्यालय बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाका अनुसार चार विद्यालयका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटको प्रारम्भिक विवरणअनुसार त्रिभुवन त्रिशूली मावि, रामचन्द्र आधारभूत विद्यालय, चेतना आवि र त्रिशूली सामुदायिक बोर्डिङ स्कुलका सम्पूर्ण संरचनामा क्षति पुगेको छ। उत्तरगया इङ्लिस बोर्डिङ स्कुलका तीन ब्लक र छात्रावास पूर्ण क्षति भएका छन्।
चण्डेश्वरी माविको दृष्टिविहीन विद्यार्थीको छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत मावि र पायोनियर इङ्लिस बोर्डिङको घेराबारमा समेत क्षति पुगेको छ। रामचन्द्र आविको एक र उत्तरगया इङ्लिस बोर्डिङका दुई बस बाढीले बगाएको छ।
किस्पाङमा विस्थापितलाई राख्न दुई विद्यालयमा तथा बेलकोटगढीमा एक विद्यालयमा होल्डिङ सेन्टर बनाइएको छ। बेलकोटगढी–७ को शिलादेवी मावि बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ भने वडा नं. ५ को महादेव माविमा पनि क्षति पुगेको छ।
शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढीको सूचना पाए पनि प्रभाव यति ठूलो हुने अनुमान गरिएको थिएन। उनले अहिलेको असामान्य अवस्थाका कारण केही समयपछि वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने योजना बनाइने बताए।

























