
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ केन्द्रीय महाधिवेशनको तयारीका विषयमा छलफल गर्न आज (बुधबार) बैठक बोलाएको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को आयोजनामा बैठक बस्न लागेको हो।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार बैठक दिउँसो १ बजे चुनदेवीस्थित इतर समूहको सम्पर्क कार्यालयमा बस्नेछ।
बैठकमा १५औँ महाधिवेशनको तयारी, मुलुकको समसामयिक राजनीतिक परिस्थिति र विविध विषयमा छलफल हुने बताइएको छ।
बैठकमा सहभागी हुन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य र आमन्त्रित सदस्यलाई बोलाइएको प्रचारप्रसार समितिले जनाएको छ।

























