सञ्जय र कबीरको जीवितै उद्धारपछि परिवारमा खुसीयाली

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १९, शुक्रबार १२:४१

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार भएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले शुक्रबार बिहान सुरुङभित्रबाट ३० वर्षीय सञ्जय साह र कबीर महर्जनलाई सकुशल बाहिर निकालेपछि उनीहरूको परिवारमा खुसीयाली छाएको छ । सुरुङबाट जीवितै उद्धार गरिएका कबीर महर्जनका भाइ अमीर महर्जनले दाइ सकुशल रहेको खबर सुन्दा खुसीलाई शब्दमा बयान गर्न नसकेको बताए ।

Advertisement

उनले दाइलाई उपचारका लागि काठमाडौंको छाउनी अस्पताल ल्याइएको र परिवारका सदस्यहरू उनलाई भेट्न अस्पतालतर्फ गएको जानकारी दिए । ‘१० दिनपछि टनेलबाट सकुशल उद्धार गरिएका कबीर महर्जन मेरो दाइ हुन् । अहिले छाउनी अस्पताल ल्याइएको छ । उद्धार भएको सुन्दा एकदमै खुसी लागेको छ,’ अमीरले भने ।

उनका अनुसार दाइको अवस्थालाई लिएर १० दिनसम्म परिवारमा ठूलो चिन्ता थियो । दाइ सुरुङभित्र फसेको जानकारीसमेत परिवारले सञ्चारमाध्यमबाट थाहा पाएको थियो । ‘परिवारमा सबैलाई खुसीको सीमा नै छैन । अब शब्दले बयान गर्ने चिज नै भएन । सबै जना एकदम खुसी छौं,’ उनले भने ।

अमीरले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी तथा उद्धार विज्ञहरूलाई धन्यवाद दिएका छन् । आफूहरू घटनास्थलमा पुगेर दाइको खोजी गर्न सक्ने अवस्थामा नरहेको भन्दै उनले सञ्चारमाध्यमबाटै घटनाका बारेमा जानकारी लिइरहेको बताए ।

‘मुख्यगरी उद्धारमा लाग्नुभएका नेपाली सेना, सशस्त्र प्रहरी र सबै रेस्क्यु एक्स्पर्ट सरहरूलाई एकदमै धन्यवाद छ,’ उनले भने, ‘हामीले दाइ टनेलमा थुनिएको पनि मिडियाबाटै थाहा पायौं । अहिले सकुशल भएको खबर पनि मिडियाबाटै थाहा पायौं । आफैं खोज्न जाने अवस्था पनि थिएन । अहिले उहाँ सकुशल हुनुभयो, एकदमै खुसी छौं ।’ कबीर आयोजनामा कर्मचारीका रूपमा कार्यरत थिए । उनको नियमित ड्युटी नै त्यहीँ रहेको र कामकै क्रममा यस्तो विपत्ति आइपरेको परिवारले जनाएको छ ।

‘उहाँ कर्मचारी नै हो । त्यही काम गर्नुहुन्थ्यो । गइराख्नुहुन्थ्यो । ड्युटी नै त्यहीँ थियो । यस्तो होला भन्ने हामीले सोचेका पनि थिएनौं । अहिले अचम्म लागिराखेको छ,’ अमीरले भने ।

त्यस्तै, सुरुङबाट जीवितै उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको परिवारमा पनि १० दिनदेखिको तनाव अन्ततः खुसीमा परिणत भएको छ । सप्तरीको तिलाठी–कोईलाडी गाउँपालिका–४ का ३० वर्षीय सञ्जय आयोजनाको कन्ट्रोल रुममा कार्यरत थिए । बाढी आएको दिन अरूको ज्यान बचाउने प्रयास गर्दागर्दै उनी आफैं सुरुङभित्र फसेका थिए ।

सञ्जयले बाढी आएपछि सुरुङभित्र रहेका अन्य व्यक्तिलाई बाहिर निकाल्न निरन्तर प्रयास गरेका थिए । धेरैलाई बाहिर पठाएपछि रात परेका कारण आफू भने सुरुङबाट निस्कन नसकेको उनले उद्धारपछि नेपाली सेनासँगको कुराकानीमा बताएका छन् ।

‘कन्ट्रोल रुममा काम गर्थें । त्यहाँ म भएपछि मेरो कर्तव्य सबैको ज्यान बचाउनु थियो । दुर्घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्‍यो,’ सञ्जयले भनेका छन् । उनका अनुसार आफूले अरूलाई बाहिर निस्कन लगाउँदै गर्दा आफ्नो समय बित्यो । ‘सबैलाई बाहिर भाग्न लगाउँदै थिएँ । त्यसो गर्दा मेरो समय नै भएन । रातमा म निस्कनै पाइनँ,’ उनले भने ।

सुरुङभित्र १० दिनसम्म रहँदा आफूले भगवानको ‘महामन्त्र’ जपिरहेको र त्यसैले आफ्नो ज्यान जोगिएको सञ्जयको विश्वास छ । सञ्जय जीवितै उद्धार भएको खबरले सप्तरीमा रहेका उनका परिवारका सदस्य भावुक बनेका छन् । छोराको सकुशल उद्धार भएको खबर सुन्नासाथ अर्धचेत अवस्थामा रहेका उनका बुवाको आँखाबाट खुसीका आँसु बगेको भाइ सञ्जीवले बताए ।

‘बुवा त बेहोसजस्तै हुनुहुन्थ्यो । राति हामी कोही परिवार सुतेकै थिएनौं,’ सञ्जीवले भने, ‘अहिले बुवा धेरै खुसी हुनुभएको छ । उहाँ खुसीको आँसु झार्दै विमानस्थलतर्फ जाँदै हुनुहुन्छ ।’ सञ्जयलाई भेट्न उनका बुवासँगै काका र काकी पनि काठमाडौं आउँदैछन् ।

सञ्जय बेपत्ता भएपछि उनकी श्रीमती पीडा सहन नसकेर माइती गएकी थिइन् । उनीहरूकी डेढ वर्षकी छोरी छिन् । शुक्रबार बिहान सञ्जय सकुशल उद्धार भएको खबर उनका भाइ सञ्जीवले नै भाउजूलाई फोन गरेर सुनाएका थिए ।

‘अहिले त भाउजु पनि धेरै खुसी हुनुहुन्छ । यो सोच्दै नसोचेको खुसी भयो,’ सञ्जीवले भने । बाढी आएको भदौ १० गते बिहान करिब ७ः४५ बजे सञ्जयले परिवारसँग करिब पाँच सेकेन्ड मात्र फोनमा कुरा गरेका थिए । त्यसपछि दिउँसो करिब १ बजेतिर परिवारले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट आयोजनाको सुरुङमा बाढी पसेको र केही व्यक्ति सम्पर्कविहीन भएको जानकारी पाएको थियो । त्यसपछि सञ्जयलाई फोन गर्दा सम्पर्क हुन सकेन ।

१० दिनसम्म परिवारका लागि अनिश्चितता एवं चिन्ताको कारण बनेको यो घटनामा शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले दुवैलाई जीवितै बाहिर निकालेपछि परिवारमा खुसी फर्किएको छ ।

तपाइको प्रतिक्रिया
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
मोरङ कारागारमा भत्कियो अभिषेक गिरीको सञ्जाल, कैदीबन्दीले मनाए खुसीयाली
सम्पर्कविहीन भएकाको पत्तो नलागेपछि धार्मिक विधिअनुसार अन्त्येष्टि गरिँदै
चिलिमे टनेलमा खोजी तीव्र पार्न सेनाले पठायो स्काभेटर
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×