बाढी र पहिरोले विभिन्न राजमार्ग प्रभावित

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार ०९:३४

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार कतिपय सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी तथा सीमित सवारीसाधन मात्र सञ्चालन भइरहेका छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ विसामढीमा पहिरोका कारण काठमाडौं–धादिङ सडकखण्ड प्रभावित भएको छ । भदौ १७ गते बिहानबाट प्रभावित उक्त सडकमा हाल एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।

Advertisement

काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालनमा समय र तौलसम्बन्धी व्यवस्था गरिएको छ । शुक्रबार साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म १० टनसम्मका मालवाहक सवारीसाधन सञ्चालन गर्न दिइएको छ । बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म भने परिस्थितिको मूल्यांकन गरी सवारीसाधन सञ्चालन गरिने व्यवस्था मिलाइएको छ ।

बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । उक्त अवरोध लामो समयसम्म रहने प्रहरीले जनाएको छ ।

त्यस्तै, भदौ १० गतेबाट रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । तत्काल ती सडक सञ्चालनमा आउन नसक्ने अवस्था रहेको जनाइएको छ ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । शिवपुरी गाउँपालिका–चन्द्रखोला क्षेत्रमा राति १० बजेदेखि अर्को सूचना नभएसम्म बिहान ५ बजेसम्म सडक बन्द गर्ने व्यवस्था गरिएको थियो ।

नुवाकोटको बेत्रावती सिमटारमा बाढीका कारण पासाङ ल्हामु सडकखण्ड भदौ १० गते बिहानदेखि पूर्ण रूपमा अवरुद्ध छ । अर्को सूचना नभएसम्म उक्त सडक सञ्चालनमा नआउने प्रहरीले जनाएको छ ।

धादिङको पृथ्वीलोकमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ठूलो पहिरोका कारण उक्त स्थानमा यातायात सञ्चालन हुन सकेको छैन ।

सोही राजमार्गको गजुरी गाउँपालिका–२ पेवाभीरमा पनि पहिरोका कारण सडक प्रभावित छ । उक्त खण्डमा हाल साना गाडी मात्र एक लेनबाट सञ्चालन भइरहेका छन् ।

धादिङकै बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र थाक्रे गाउँपालिका–२ कुम्रेभीर क्षेत्रमा पनि पृथ्वीलोकमार्ग पहिरोका कारण प्रभावित भएको छ । उक्त सडकखण्डमा हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्ड, मुगुको मुगु–गमगढी सडक, बझाङको जयपृथ्वी राजमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । रोल्पाको सहिद मार्गअन्तर्गत दुईखोली र भालखोर क्षेत्रमा पहिरो जाँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

प्रहरीले बाढी, पहिरो तथा प्रतिकूल मौसमका कारण सडकको अवस्था जुनसुकै बेला थप जोखिमपूर्ण हुन सक्ने भएकाले अत्यन्त जरुरी कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
उद्धार सकिएको छैन, पुनःस्थापनाको चुनौती झन् ठूलो
विराटनगरको रथयात्रामा चोरीदेखि दुर्घटनासम्मको जोखिम, प्रहरीले गर्‍यो यस्तो आग्रह
भोटेकोशी बाढी : विपद् मात्रै कि जलवायु परिवर्तनको संकेत ?
मानव बेचबिखनमुक्त समाजका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यकः प्रधानमन्त्री
‘राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक’
फकल्यान्डको तेल उत्खनन रोक्न अर्जेन्टिनाको तयारी, ट्रम्पको अभिव्यक्तिले बढायो तनाव
पीडितको दुःखलाई प्रदर्शन होइन, पुनर्निर्माणको शक्तिमा बदल्नुपर्छ
क्यानाडाको प्रान्तीय सरकारद्वारा बाढीपीडितका लागि ५० हजार डलर सहयोग
ड्रोनमार्फत बाढी प्रभावित क्षेत्रमा राहत
प्रतिभा पौडेलको महाकाव्य ‘तितिक्षा’ लोकार्पण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×