
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ ।
नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयका अनुसार भदौ १० गतेको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्याउने उद्देश्यले शुक्रबार अपिल गरिएको हो । राष्ट्रसङ्घले मानवीय सहायताका साझेदार निकायसँगको सहकार्यमा सरकारको नेतृत्वमा सञ्चालन भइरहेको उद्धार तथा राहत कार्यसँग समन्वय गरेर काम गरिरहेको जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद सुरु हुनुअघिको चार महिने योजनालाई सहयोग रकमले प्राथमिकता दिनेछ । उच्च हिमाली क्षेत्रका बस्तीमा हिउँदअघि देखिन सक्ने कष्ट तथा सरुवा रोगको जोखिम न्यूनीकरण गर्नु योजनाको मुख्य उद्देश्य रहेको राष्ट्रसङ्घले जनाएको छ ।
अपिलअन्तर्गत स्थानीय बजार सञ्चालनमा रहेका क्षेत्रमा प्रभावित परिवारलाई प्रत्यक्ष नगद सहायता, विस्थापित परिवारलाई अस्थायी आवास तथा जाडोबाट जोगिने सामग्री र विद्युत् नपुगेका क्षेत्रमा सौर्य उपकरण उपलब्ध गराउने योजना छ ।
त्यस्तै, क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, पानी शुद्धीकरण प्रणाली जडान तथा सरसफाइ सामग्री वितरणमार्फत पानीजन्य रोगको जोखिम घटाउने, घुम्ती स्वास्थ्य शिविरबाट उपचार तथा पोषण सहायता उपलब्ध गराउने र परिवारबाट छुट्टिएका बालबालिकाको पुनर्मिलनका लागि संरक्षण समूह परिचालन गर्ने योजना छ । आकस्मिक खाद्य सहायता तथा बाँचेका पशुधनको व्यवस्थापनमार्फत ग्रामीण जीविकोपार्जन जोगाउने कामसमेत गरिनेछ ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट र धादिङका थुप्रै बस्ती विस्थापित भएका छन् । बाढीले भौतिक पूर्वाधार, यातायात, विद्युत्, खानेपानी तथा सरसफाइका संरचनामा व्यापक क्षति पुर्याएपछि विकट क्षेत्रका नागरिक आधारभूत आवश्यकताबाट समेत वञ्चित भएका छन् ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले बाढीबाट प्रभावित परिवारले छोटो समयमै आफन्त, घर र जीविकोपार्जनका आधार गुमाएको बताउँदै हिउँदअघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत, उपचार, सफा पानी र नगद सहायता पुर्याउनु अपिलको मुख्य प्राथमिकता रहेको बताएकी छन् ।

























