
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र -बालेन) शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलंक र विश्वभर फैलिएको संगठित अपराधका रूपमा रहेको बताएका हुन् ।
‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन भइरहेको उल्लेख गरेका छन् ।
उनका अनुसार मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत र संस्थागत सुधार गर्दै आएको छ । यसका लागि तीनै तहका सरकार र सम्बन्धित सरोकारवालाबीच समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई पालेर्मो प्रोटोकलअनुकूल हुने गरी संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिएको जानकारी दिएका छन् । यसबाट पीडितको मानव अधिकार संरक्षण तथा अन्तर्राष्ट्रियस्तरमा राज्यहरूबीच सहयोग र समन्वय बढाउन सहज हुने अपेक्षा गरिएको उनले बताएका छन् ।
संघीय संरचनाअनुरूप विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई परिमार्जन गर्ने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको पनि उनले उल्लेख गरेका छन् । मानव बेचबिखनविरुद्धको अभियानमा संघीय सरकारसँगै प्रदेश तथा स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकारवालाको सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्री शाहको भनाइ छ ।
‘हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ,’ उनले सन्देशमा भनेका छन् । प्रधानमन्त्री शाहले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै अभियानमा साथ र ऐक्यबद्धताका लागि आग्रह गरेका छन् ।

























