भोटेकोशी बाढीले रसुवा तहसनहस, ३ हजारभन्दा बढी अझै सम्पर्कविहीन

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार ०६:१६

रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भदौ १० गते आएको भोटेकोशी नदीको भीषण बाढीले रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । बाढी र पहिरोपछि जिल्लामा तीन हजार ७१ जना अझै सम्पर्कविहीन रहेका छन् भने एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ ।

ल्हेन्दे खोला हुँदै आएको बाढीका कारण विभिन्न स्थानमा फसेका नागरिक, कर्मचारी तथा पर्यटकको सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये एक हजार २२७ नेपाली र ८६ जना विदेशी पर्यटक रहेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement

गोसाइँकुण्ड क्षेत्रमा बाढी र पहिरोका कारण अलपत्र परेका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौं लगिएको छ । सडक सम्पर्क विच्छेद भएका तथा पुग्न कठिन क्षेत्रहरूमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन गरिएको प्रशासनले जनाएको छ ।

बाढीपछि सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, वित्तीय संस्थाका कर्मचारी, स्थानीय तथा विदेशी नागरिकसमेत छन् । २७ नेपाली सेना, २८ नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी सम्पर्कबाहिर छन् । त्यस्तै ७९ सरकारी कर्मचारी र बैंक तथा वित्तीय संस्थामा कार्यरत २६ कर्मचारीको अवस्थासमेत पत्ता लाग्न सकेको छैन ।

स्थानीयतर्फ रसुवाका एक हजार ३७० र अन्य जिल्लाका एक हजार २६२ जना सम्पर्कविहीन रहेको प्रशासनको विवरण छ । त्यस्तै, २६६ जना विदेशी पर्यटक पनि सम्पर्कविहीन छन् ।

विपद्का क्रममा विभिन्न स्थानबाट फेला परेका शवमध्ये हालसम्म छ जनाको सनाखत भएको छ । सनाखत भएका व्यक्तिमा उत्तरगया–५ का जनक आचार्य, गंगादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङ छन् ।

विभिन्न स्थानबाट फेला परेका १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको प्रशासनले जनाएको छ । बाँकी शवको पहिचानका लागि आवश्यक मुचुल्का तयार गर्ने तथा डिएनए परीक्षणको प्रक्रिया अघि बढाइएको छ ।

बाढीपहिरोले जिल्लाको भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ । प्रारम्भिक विवरणअनुसार १ हजार ५ सय निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । २८ सरकारी तथा सार्वजनिक निकायका भवन, आठ सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंक तथा वित्तीय संस्थाका भवनमा समेत क्षति पुगेको छ ।

बाढीका कारण रसुवाको यातायात पूर्वाधारमा ठूलो असर परेको छ । जिल्लाका ४१ किलोमिटर सडक तथा राजमार्ग अवरुद्ध भएका छन् । छवटा पक्की मोटरेबल पुल, आठ ट्रस तथा बेलीब्रिज, एउटा आर्च पुल र १० झोलुङ्गे पुलमा क्षति पुगेको वा बाढीले बगाएको छ ।

जलविद्युत् क्षेत्रमा पनि बाढीको असर गम्भीर देखिएको छ । जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ ।

विपद्का कारण घरबार गुमाएका तथा जोखिममा परेका सात हजार ३३ नागरिकलाई जिल्लाका विभिन्न १२ वटा सुरक्षित आश्रयस्थलमा राखिएको छ । धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय र गणेश आधारभूत विद्यालयलगायतका स्थानमा विस्थापित नागरिकका लागि बसोबास र खानाको व्यवस्था गरिएको छ ।

प्रभावित क्षेत्रमा उद्धारसँगै राहत वितरणको काम पनि जारी छ । प्रशासनका अनुसार हालसम्म विभिन्न स्थानमा १३६ पटक राहत सामग्री पुर्‍याइएको छ ।

विपद्को चपेटाबीच जिल्लाको विद्युत् आपूर्ति भने क्रमशः सामान्य बन्दै गएको छ । हालसम्म ८३ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ । नेपाल टेलिकमको सञ्चार सेवा पनि सबै क्षेत्रमा सञ्चालनमा ल्याइएको प्रशासनले जनाएको छ । सञ्चार सेवा पुनः सञ्चालन भएपछि उद्धार, राहत वितरण र विभिन्न निकायबीचको समन्वयमा सहजता भएको छ ।

प्रशासनले अझै सम्पर्कमा नआएका नागरिकको खोजी, शव पहिचान, उद्धार तथा प्रभावितलाई राहत उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×