काजकिरिया चल्दै गर्दा जीवित फेला

Share this
810shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २१, आइतबार ०६:३०

काठमाडौं । भोटेकोशीको भीषण बाढीमा बेपत्ता भएको आठ दिनसम्म कुनै खबर नआएपछि परिवारले चण्डिका श्रेष्ठ अब जीवित नरहेको निष्कर्ष निकाल्यो ।

आफन्तले नदी किनारदेखि आसपासका क्षेत्रमा खोजी गरे । तर, न चण्डिका भेटिइन्, न त उनको अवस्था पत्ता लाग्यो । अन्ततः परिवारले कुशको शव बनाएर अन्त्येष्टि गर्दै उनको काजकिरिया सुरु गर्‍यो । तर, परिवारले मृत्यु स्वीकार गरिसकेको ११औँ दिनमा चण्डिका जीवितै फेला परिन् ।

Advertisement

नुवाकोटको विदुर नगरपालिकास्थित आफ्नो घरको भग्नावशेषमा पुरिएर रहेकी ६४ वर्षीया चण्डिकालाई शनिबार सुरक्षाकर्मीले जीवितै उद्धार गरेका हुन् । बाढीले क्षतिग्रस्त बनाएको घरको चौथो तलाबाट उनलाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । अहिले उनको उपचार वीरेन्द्र सैनिक अस्पतालमा भइरहेको छ ।

चण्डिकाको खोजीमा सक्रिय रहेका विदुर नगरपालिकाका मेलमिलापकर्ता अष्टमान डंगोलका अनुसार बाढीले वेत्रावती किनारमा रहेको श्रेष्ठ परिवारको घर र कपडा पसलसमेत बगाएर क्षतिग्रस्त बनाएको थियो । चण्डिका र उनका श्रीमान् आनन्दलालको अवस्था पत्ता नलागेपछि डंगोलले विभिन्न ठाउँमा खोजी गरेका थिए ।

खोजीकै क्रममा उनलाई घरको भग्नावशेषमा पनि कोही जीवित हुन सक्ने आशंका भयो । त्यसपछि उनले सुरक्षाकर्मीलाई उक्त घर र त्यहाँ पुग्ने बाटो देखाउँदै खोजी गर्न आग्रह गरेका थिए ।

त्यही क्रममा चण्डिका घरको चौथो तलामा भेटिइन् । बाढीले ल्याएको गेग्य्रान र भग्नावशेषले घरको अधिकांश भाग पुरिए पनि उनी त्यहीँ जीवित अवस्थामा रहेकी थिइन् ।

डंगोलका अनुसार सोही क्षेत्रमा यसअघि २४ जनाको शव फेला परेको थियो । त्यसैले चण्डिका पनि त्यही घरको भग्नावशेषमा हुन सक्ने आशंकामा खोजीलाई प्राथमिकता दिन आग्रह गरिएको थियो ।

चण्डिकाका श्रीमान् आनन्दलाल भने अझै सम्पर्कविहीन छन् । बाढीका कारण सोही घरबाट चण्डिकाका देउरानी, घरमा काम गर्ने एक व्यक्ति र एक जना नातेदार बेपत्ता भएका छन् । उनीहरूको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

चण्डिकालाई उपचारका लागि काठमाडौं ल्याइएपछि अस्पताल पुगेका उनका सम्धी रमेशमान श्रेष्ठले परिवारका लागि यो घटना विश्वास गर्नै कठिन भएको बताए । उनले लामो समयसम्म खोजी गर्दा पनि चण्डिका नभेटिएपछि परिवारले बाध्य भएर काजकिरिया सुरु गरेको बताए ।

परिवारले मृत्यु भइसकेको ठानेर अन्तिम संस्कारको प्रक्रिया अघि बढाइरहेका बेला चण्डिका जीवित भेटिनुले आफन्तमा खुसीसँगै आश्चर्य पनि छाएको छ । अस्पतालमा चण्डिकालाई भेट्न नपाए पनि उनी बोल्न सक्ने र सकुशल अवस्थामा रहेको रमेशमानले जानकारी दिए ।

भोटेकोशी बाढीले श्रेष्ठ परिवारलाई ठूलो क्षति पुर्‍याएको छ । परिवारका सदस्यहरु अझै बेपत्ता छन् । तर, मृत्यु भइसकेको ठानेर काजकिरिया सुरु गरिसकेपछि ११ दिनमा चण्डिका जीवितै भेटिनु भने उद्धार कार्यमा संलग्न सुरक्षाकर्मी र परिवारका लागि समेत असाधारण घटना बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×