फाइल फोटो ।गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा मान्द्रुङ खोलामा आएको बाढीले तीनवटा घर बगाएको छ ।
भारी वर्षापछि खोलामा अचानक आएको बाढीले स्थानीय नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । बाढीका कारण मान्द्रुङ खोलामाथि रहेको एउटा फलामे पुलमा समेत क्षति पुगेको गोरखा प्रहरीका डीएसपी राजकुमार श्रेष्ठले बताए । उनका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन ।
हाल वर्षा रोकिएसँगै मान्द्रुङ खोलाको बहाव पनि घट्दै गएको प्रहरीले जनाएको छ । बाढीपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले नदी तथा खोला तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।



















