
रसुवा । भोटेकोशी नदीमा आएको बाढीले सडक, पुललगायतका भौतिक संरचना ध्वस्त बनाएपछि चीनको केरुङमा भण्डारण गरिएका व्यापारिक सामान वैकल्पिक नाकाका रूपमा कोरला नाकाबाट नेपाल ल्याउन थालिएको छ ।
हिमपहिरोसहित ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशीमा मिसिँदा रसुवागढीस्थित दुवैतर्फका सरकारी कार्यालयसहित सडकमार्गमा क्षति पुगेपछि केरुङका गोदाममा रहेका ४०० भन्दा बढी कन्टेनरका सामान वैकल्पिक सडकमार्ग प्रयोग गरी ढुवानी गर्न थालिएको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ ।
ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार बाढीले रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै काठमाडौं जोड्ने सडकमार्गसमेत प्रभावित भएकाले उक्त मार्ग सञ्चालनमा आउन समय लाग्ने देखिएको छ । त्यसैले केरुङमा रोकिएका सामानलाई कोरला नाका हुँदै नेपाल ल्याउने काम तीव्र पारिएको उनले बताए ।
उनका अनुसार दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गएकाले नेपालका लागि आवश्यक व्यापारिक सामान समयमै ल्याउन वैकल्पिक मार्गबाट ढुवानीको काम भइरहेको छ । बाढीका कारण रसुवागढी–त्रिशूली सडकखण्डमा ढुवानीका क्रममा रहेका कैयौँ कन्टेनरसमेत बगेका थिए। यसबाट जनधनसँगै ठूलो परिमाणमा व्यापारिक सामानमा क्षति पुगेको छ ।
ज्याङका अनुसार उनको कम्पनीले चिनियाँ उत्पादक तथा नेपाली व्यापारीका सामान चीनको सिगात्से क्षेत्रबाट नेपालको सीमासम्म ढुवानी गर्दै आएको छ । उनले आफ्ना बाउबाजे काठमाडौँको बागबजारबाट व्यापार–व्यवसायका सिलसिलामा तिब्बत पुगेको पारिवारिक पृष्ठभूमिसमेत सुनाए । उनका अनुसार हाल मुसा ट्रान्सपोर्टले सिगात्सेमा रहेर नेपाल–चीन व्यापारमा आवश्यक ढुवानी सेवा प्रदान गर्दै आएको छ ।

























