
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने तयारीमा जुटेका छन् । प्रधानमन्त्रीको भ्रमण औपचारिक रूपमा सार्वजनिक भइनसके पनि महासभामा नेपालका तर्फबाट प्रधानमन्त्रीस्तरमै सहभागिता हुने निश्चित भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको छ । त्यसलाई केन्द्रमा राखेर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी अघि बढाएका छन् ।
यसपटक प्रधानमन्त्री शाहले विगतको तुलनामा निकै सानो टोलीको नेतृत्व गर्दै अमेरिका जाने तयारी गरेका छन् । प्रारम्भिक तयारीअनुसार प्रधानमन्त्रीसहित करिब १० देखि ११ सदस्यीय टोली महासभामा सहभागी हुने सम्भावना छ । भ्रमणको अन्तिम मिति र सहभागी हुने व्यक्तिहरूको नाम भने अझै टुंगो लाग्न बाँकी छ ।
प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिवहरू सुभाष शर्मा र प्रदीप पजियार, फोटोग्राफर विनय शाक्य तथा शिष्टाचार (प्रोटोकल) सम्बन्धी अधिकारी रहने तयारी छ ।
त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा जाने टोलीका लागि भने यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ । उक्त टोलीमा परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, राष्ट्रसंघ मामिला हेर्ने सहसचिव कृष्णप्रसाद ढकाल र अधिकारी कुमारराज खरेल सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाह महासभामा आफ्नो सम्बोधनको एक–दुई दिनअघि अमेरिका पुग्ने र सम्बोधनलगत्तै नेपाल फर्किने गरी भ्रमण तालिका बनाउने तयारीमा छन् । छोटो समयको भ्रमणमार्फत महासभामा नेपालको प्राथमिकता र पछिल्लो अवस्थाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने सरकारको तयारी छ ।
नेपालबाट संयुक्त राष्ट्रसंघको महासभामा जाने उच्चस्तरीय टोलीको आकार विगतमा भने ठूलो हुने गरेको थियो । ७८औँ महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ सदस्यीय टोलीको नेतृत्व गरेका थिए । ७९औँ महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय टोली अमेरिका गएको थियो ।
८०औँ महासभाका बेला भने नेपालमा जेनजी आन्दोलन चर्किएका कारण उच्चस्तरीय राजनीतिक टोली अमेरिका जान सकेको थिएन । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको व्यस्तताका कारण स्थायी प्रतिनिधि लोकबहादुर क्षेत्रीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
८१औँ महासभामा सुरुमा परराष्ट्रमन्त्रीकै नेतृत्वमा नेपाली टोली सहभागी हुने तयारी थियो । तर, भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको हिमबाढीपछि प्रधानमन्त्री शाह स्वयं महासभामा जाने तयारीमा जुटेका हुन् ।
नेपालले पछिल्लो समय जलवायु परिवर्तनका कारण भोग्दै आएका विपद्का विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । विशेषगरी हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, बाढीपहिरो तथा हिमबाढीजस्ता विपद्का कारण नेपालले भोगिरहेको क्षतिबारे प्रधानमन्त्री शाहले विश्व समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ ।
जानकारहरूका अनुसार प्रधानमन्त्रीस्तरबाटै महासभामा नेपालको धारणा प्रस्तुत गर्दा जलवायु परिवर्तन र त्यसबाट नेपालले भोगिरहेको असरलाई अन्तर्राष्ट्रिय तहमा थप प्रभावकारी ढंगले उठाउन सकिने सुझावपछि शाह अमेरिका जान तयार भएका हुन् । प्रधानमन्त्रीको भ्रमणलाई छोटो र सीमित प्रतिनिधिमण्डलमा केन्द्रित गर्ने तयारीसँगै महासभामा नेपालको मुख्य एजेन्डा जलवायु परिवर्तन र त्यसबाट सिर्जित विपद् रहने देखिएको छ ।

























