
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आज (सोमबार) देखि आंशिक रूपमा बन्द गरिएको छ । तुइन खोलामा पहिरो रोकथाम तथा जोखिमयुक्त माटो कटानको काम गर्न सवारी आवागमन निश्चित समयका लागि रोकिएको हो ।
चितवन प्रशासनका अनुसार धादिङको कृष्णभीरमा सडक मर्मत भइरहेका कारण सवारी चाप कम भएको समयको सदुपयोग गर्दै तुइन खोला परियोजनाअन्तर्गत पहिरो झर्न सक्ने माथिल्लो भागको माटो कटान तथा व्यवस्थापनको काम गर्न लागिएको हो। कृष्णभीरको सडक मर्मत सम्पन्न भई यातायात सञ्चालनमा नआएसम्म तुइन खोलामा यो काम जारी रहनेछ ।
प्रशासनका अनुसार नारायणगढ–मुग्लिन सडक बिहान ८ देखि ८:३० बजे, १०:३० देखि ११ बजे, दिउँसो १ देखि १:३० बजे, ३:५० देखि ४ बजे र साँझ ६ बजेपछि सवारीका लागि खुला गरिनेछ । यी समयबाहेक तुइन खोला क्षेत्रमा सवारी रोकेर काम गरिनेछ । तुइन खोलामा पटक–पटक पहिरो जाने भएकाले सम्भावित जोखिम कम गर्न झर्न सक्ने माटो तथा भिरालो भाग व्यवस्थापन गर्न लागिएको प्रशासनले जनाएको छ ।


























