
विराटनगर । उमेरले ८४ वर्ष पुगिन् दुर्गादेवी कठेत बस्नेत । बुढ्यौलीले शरीर कमजोर छ । हात भाँचिएको छ । मधुमेह, उच्च रक्तचाप, थाइरोइड, कोलेस्ट्रोल र युरिक एसिडलगायतका स्वास्थ्य समस्याले शरीर थलिएको छ । तर, यतिबेला उनलाई आफ्नो शरीरको पीडाभन्दा छोरी र नातिनी कहाँ छन् भन्ने पीडा सबैभन्दा ठूलो बनेको छ ।
भदौ १० गतेदेखि दुर्गादेवीकी छोरी एसिका बस्नेत र नातिनी नेलीमाया क्षेत्री सम्पर्कविहीन छन् । उनीहरू कहाँ छन्, जीवित छन् कि छैनन् भन्ने कुनै जानकारी छैन । प्रत्येक दिन बित्दै जाँदा दुर्गादेवीको मनमा आशा र पीडाबीचको संघर्ष झन् गहिरिँदै गएको छ ।
‘जहाँ छन् मेरी छोरी र नातिनी, खोजी पाऊन् । तत्काल उनीहरूको अवस्था पत्ता लागोस्,’ आँसु झार्दै दुर्गादेवी भन्छिन्, ‘जीवित छन् कि बाढीले बगाइसक्यो । त्यो पनि थाहा पाउन पाए हुन्थ्यो ।’
२०५८ सालदेखि बेलायतमा बस्दै आएकी ५६ वर्षीया एसिका र उनकी १७ वर्षीया छोरी नेलीमाया भदौ १ गते नेपाल आएका थिए । विराटनगरमा रहेका आमा, भाइ र बुहारीसँग भेटघाट भयो । अनि पाँचै जना भदौ ३ गते पारिवारिक भ्रमणका लागि भारत गए ।
छोरी लिएर नेपाल आएकी एसिका आमा दुर्गादेवी, भाइ देवेन्द्र बस्नेत र बुहारी लक्ष्मी बस्नेतसहित भारत पुगेका थिए । सात दिन भारतमा घुमफिर गरेपछि दुर्गादेवी, देवेन्द्र र लक्ष्मी विराटनगर महानगरपालिका–७ सरस्वती चोकस्थित घर फर्किए । तर, एसिका र छोरी नेलीमायाको यात्रा त्यतिमै रोकिएन । उनीहरू कैलाश मानसरोवर दर्शन गर्ने योजनासहित भारतको नयाँ दिल्लीबाट काठमाडौं पुगे ।
भदौ ९ गते एसिका र नेलीमाया कैलाश मानसरोवर यात्राका लागि काठमाडौंबाट हिँडेका थिए । काठमाडौंबाट उनीहरूसहित ३१ जनाको टोली बसमा रसुवातर्फ गए । त्यसै रात रसुवा पुगेपछि एसिकाले आमालाई फोन गरेर आफूहरू होटलमा बसेको जानकारी गराइन् । त्यो फोन नै दुर्गादेवीका लागि छोरीसँग भएको अहिलेसम्मको अन्तिम संवाद बन्न पुग्यो ।
‘अघिल्लो राति छोरी र नातिनीसँग कुरा भयो । होटलमा बसेका छौं भनेका थिए,’ दुर्गादेवीले भनिन्, ‘भोलिपल्ट बिहान फोन गरेको थाहा नपाएर उठाउन पाइएन । त्यसपछि अहिलेसम्म छोरी र नातिनीसँग कुरा हुन पाएको छैन ।’

दुर्गादेवी कठेत बस्नेत ।
भदौ १० गते बिहान ८ः१६ बजे एसिकाले भाइ देवेन्द्रको फेसबुक म्यासेन्जरमा फोन गरेकी थिइन् । देवेन्द्रले फोन आएको थाहा पाएनन् । त्यसको करिब २४ मिनेटपछि बिहान ८ः४० बजे एसिकाले आमाको इमोमा फोन गरिन् । त्यो फोन पनि थाहा नपाएकाले दुर्गादेवीले उठाउन पाइनन् ।
त्यसपछि केही बेरमै भोटेकोशी नदीमा विनाशकारी बाढी आएको खबर फैलियो । बाढीले ठूलो जनधनको क्षति भएको जानकारी पाएपछि परिवारले एसिका र नेलीमायासँग सम्पर्क गर्न लगातार प्रयास गरे । तर, फोन लागेन । कुनै खबर आएन ।
आजसम्म पनि आएको छैन ।
कैलाश मानसरोवर दर्शनका लागि यात्राको चाँजोपाँजो मिलाउने काठमाडौंको ट्राभल कम्पनी ‘कैलाश जर्नी’ मार्फत् ३१ जनाको टोली गएको थियो । तर, बाढीपछि उक्त टोलीका सबै सदस्य सम्पर्कविहीन भएको देवेन्द्र बताउँछन् । उनीहरू चढेको बससमेत अहिलेसम्म फेला परेको छैन ।
‘मेरी दिदी र भान्जी बाढीपछि बेपत्ता छन् । अहिलेसम्म अवस्था पत्ता लागेको छैन,’ देवेन्द्रले भने, ‘३१ जनाकै अवस्था थाहा हुन सकेको छैन । बस पनि फेला परेको छैन ।’
परिवारले आफन्त तथा परिचितहरूलाई बाढी प्रभावित क्षेत्रमा पठाएर एसिका र नेलीमायाको खोजी गरिरहेको छ । तर, अहिलेसम्म कुनै जानकारी हात परेको छैन ।
कैलाश मानसरोवर यात्राका लागि एसिकाले बेलायतबाटै कैलाश जर्नीलाई दुई सय पाउण्ड पठाएकी थिइन् । नेपाल आएपछि पनि यात्राका लागि पटकपटक रकम पठाइएको देवेन्द्रले बताए । उनका अनुसार नेपाल आएपछि ४० हजार, १ लाख ६० हजार र २ लाख रुपैयाँ गरी तीनपटक रकम पठाइएको थियो । नेपाल आएपछि मात्रै एसिकाले ४ लाख रुपैयाँ कैलाश यात्राका लागि कैलाश जर्नीलाई पठाइन् ।
२२ दिनको बिदा लिएर नेपाल आएकी एसिकाको भदौ २१ गते अर्थात् आइतबार बेलायत फर्किने टिकट थियो । कैलाश मानसरोवर दर्शन सकेर फर्किने उनको योजना थियो । तर, त्यो यात्रा गन्तव्यसम्म पुग्न पाएन । न त उनी बेलायत फर्किने दिनसम्म परिवारको सम्पर्कमा आउन सकिन् ।
छोरी र नातिनी बेपत्ता भएपछि दुर्गादेवीको दिनरात एउटै प्रश्नमा अडिएको छ, ‘उनीहरू कहाँ छन् ?’
भदौ १० गतेदेखि उनलाई न भोक लागेको छ, न त निद्रा परेको छ । शरीरमा अनेक स्वास्थ्य समस्या भए पनि उनी छोरी र नातिनीको खोजीमा दौडिरहेकी छन् । यही क्रममा सोमबार छोरा देवेन्द्र र बुहारी लक्ष्मीलाई साथमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङ पुगिन् ।
बाढीपछि फेला परेका कतिपय शवको पहिचान हुन नसकेपछि सरकारले आफन्तबाट डीएनए परीक्षणका लागि नमुना संकलन गरिरहेको छ । दुर्गादेवी पनि त्यही प्रक्रियाका लागि प्रहरी कार्यालय पुगेकी थिइन् । त्यहाँबाट अस्पताल पुगेर उनले डीएनएको नमुना दिइन् । उक्त नमुना परीक्षणका लागि काठमाडौं पठाइने मोरङ प्रहरीका इन्स्पेक्टर लेखनाथ दाहालले बताए । उनका अनुसार सोमबारसम्म बाढीमा परेर परिवारका सदस्य बेपत्ता भएका चार जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा डीएनए परीक्षणका लागि नमुना दिइसकेका छन् ।
तर, डीएनए परीक्षणका लागि नमुना दिनुपर्ने अवस्था आफैंमा दुर्गादेवीका लागि अर्को ठूलो पीडा बनेको छ । उनी छोरी र नातिनी जीवितै फर्किने आशामा छिन् । तर, मनको कुनामा अर्को भय पनि छ—कतै आफूले जन्माएको छोरी र नातिनीको पहिचानका लागि डीएनए दिनुपर्ने अवस्था त होइन ?’
दुर्गादेवीका अनुसार एसिकाको देब्रे हातमा गुलाफको फूलको ट्याटु छ । आँखामुनि ठूलो कोठी छ । कैलाश मानसरोवर यात्रामा निस्किनुअघि नेलीमायाले पनि काठमाडौंमै देब्रे हातमा ट्याटु बनाएकी थिइन् ।
त्यही ट्याटु सम्झिँदै दुर्गादेवीका आँखा फेरि रसाउँछन् । ‘ट्याटु बनाएर मेरो नाम राख्ने कुरा नातिनीले गरेकी थिई,’ उनले भनिन्, ‘नातिनीलाई नै भेट्न नपाउने भएँ, उसले मेरो नाम राखेको ट्याटु हेर्ने त कुरै भएन ।’
बेलायतबाट वर्षमा एकपटक नेपाल आउने एसिका र नेलीमाया आमा एवं आफन्तसँग भेटघाट र घुमफिर गरेर फर्किने गर्थे । यसपटक पनि आफूलाई जन्माउने आमा र भाइ–बुहारीसँग समय बिताउन नेपाल आएका थिए । भारत घुमे । त्यसपछि कैलाश मानसरोवर जाने योजना बनाए । तर, भोटेकोशीको बाढीले उनीहरूको यात्रा र परिवारको जीवन नै अनिश्चित बनाइदिएको छ ।
अहिले विराटनगरको घरमा दुर्गादेवी छोरी र नातिनी फर्किने बाटो हेरिरहेकी छन् । भाँचिएको हात, कमजोर र रोगले थलिएको शरीर लिएर पनि उनको आँखा ढोकातिरै छन् । फोन बज्दा झस्किन्छिन् । कुनै अपरिचित नम्बर देख्दा पनि सायद छोरीकै खबर आयो कि भन्ने आशा जाग्छ । तर, फोन उठाउँदा फेरि निराशा हात लाग्छ ।
‘सरकारले जसरी भए पनि मेरी छोरी र नातिनीको अवस्था पत्ता लगाइदिनुपर्यो,’ उनी भन्छिन्, ‘भगवानले पनि मेरी छोरी र नातिनीलाई जीवितै फर्काइदिनू ।’
दुर्गादेवीका लागि अहिले कुनै ठूलो माग छैन । उनीसँग एउटै प्रश्न छ—छोरी र नातिनी कहाँ छन् ?
उनी जीवित छन् भने घर फर्किने बाटो खोजिदिनुपर्नेछ । यदि बाढीले उनीहरूलाई आफूसँगै लगिसकेको हो भने पनि परिवारलाई सत्य जान्ने अधिकार छ । त्यसैले आफन्तको माग छ, ‘सरकारले अब ‘कुनै खबर छैन’ भन्ने अनिश्चितता अन्त्य गरिदियोस् ।’
दुर्गादेवीको आँखामा अझै एउटै आशा बाँकी छ—कुनै दिन फोन बजोस् र उताबाट आवाज आओस्, ‘आमा, हामी ठीक छौं ।’ त्यही एउटा आवाजको प्रतीक्षामा ८४ वर्षीया आमा दिन गनिरहेकी छन् ।

























