गृह मन्त्रालयमा लागूऔषध नियन्त्रण विभाग स्थापना

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १५:५१

काठमाडौं । गृह मन्त्रालयले लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ। नयाँ सरकार गठनपछि गरिएको मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण अर्थात् ‘ओ एन्ड एम’मा नयाँ विभाग थप गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन् ।

प्रवक्ता काफ्लेका अनुसार लागूऔषध नियन्त्रण विभाग स्थापनाको काम अहिले भइरहेको छ । मन्त्रालयले भदौ १८ गते ऋषिराम तिवारीलाई विभागको महानिर्देशकका रूपमा सरुवा गरिसकेको छ। महानिर्देशक तिवारीका अनुसार नयाँ विभागका लागि कार्यालय सञ्चालन गर्ने स्थान खोज्ने काम भइरहेको छ ।

Advertisement

विभागमा एक सहसचिव, दुई उपसचिव, तीन शाखा अधिकृत, पाँच नायब सुब्बा र दुई कम्प्युटर अपरेटर गरी विभिन्न पदको दरबन्दी स्वीकृत गरिएको छ ।

यसअघि गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रण शाखा मात्रै रहेको थियो । अब त्यसैलाई विस्तार गरी विभागको स्वरूप दिइएको हो । शाखाले लागूऔषधसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा अनुगमनसँगै दुर्व्यसनीको उपचार र पुनःस्थापना, लागूऔषधको बिक्री–वितरण, ओसारपसार तथा दुरुपयोग नियन्त्रणका काम गर्दै आएको थियो ।

त्यस्तै, औषधि निर्माणका लागि आवश्यक लागूऔषध आयात तथा प्रयोगको अनुमति दिने, बरामद लागूऔषध नष्ट गर्ने, जनचेतना अभिवृद्धि गर्ने र उपचार तथा पुनःस्थापनाका लागि विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गर्ने जिम्मेवारी पनि शाखाले सम्हाल्दै आएको थियो । अब यी कार्यक्षेत्रलाई थप विस्तार गर्दै लागूऔषध नियन्त्रण विभागका रूपमा अघि बढाउन लागिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×