
काठमाडौ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत वर्ष आजकै दिन सुरु भएको जेनजी आन्दोलनले सुशासन नभए संसद्को दुई तिहाइ बहुमतले पनि राजनीतिक स्थिरता दिन नसक्ने सन्देश दिएको बताएकी छन् ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै कार्कीले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको माग गर्दै सडक तथा डिजिटल सञ्जालमार्फत आवाज उठाएका युवामाथि दमन हुँदा ठूलो जनधनको क्षति भएको उल्लेख गरेकी छन् । उनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिका साथै राष्ट्रिय सम्पदा र धरोहरमा समेत ठूलो क्षति भएको उनको भनाइ छ ।
‘राष्ट्रको जीवनमा लागेको यो घाउ सायदै कहिल्यै पुरिनेछ,’ उनले भनेकी छन्, ‘अब त्यस्तो दिन कदापि दोहोरिनुहुँदैन ।’ जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्दै कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने बताएकी छन् ।
‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन,’ उनले भनेकी छन् । उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएकी छन् ।
कार्कीले जेनजी आन्दोलनबाट भएको जनधनको क्षतिको एक वर्ष नपुग्दै देश अर्को पीडादायी अवस्थाबाट गुज्रिरहेको पनि उल्लेख गरेकी छन् । भोटेकोसी बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै उनले विपद्को सामना गर्न सबैले धैर्य, जिम्मेवारी र एकताका साथ अघि बढ्नुपर्ने बताएकी छन् । ‘एकअर्काको सहारा बन्दै, दुःखमा मल्हम लगाउँदै ऐक्यबद्ध भएर विपद्को सामना गरौँ,’ उनले भनेकी छन् ।

























