१३ दिनदेखि श्रीमान् बेपत्ता, पूजाको अपिल- ‘अब आश्वासन होइन, उद्धार चाहियो’

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार ०९:२०

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीपछि श्रीमान् सम्पर्कविहीन भएको १३ दिन बितिसक्दा पनि कुनै खबर नआएपछि जनकपुरधामकी पूजा साहको चिन्ता झनै बढेको छ । रसुवास्थित यूटी–२ को १६ मेगावाटको डूसन पावर हाउसमा इन्जिनियरका रूपमा कार्यरत उनका श्रीमान् अजयप्रसाद सिंह भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन् । परिवारले उनको अवस्था पत्ता लगाई तत्काल खोज तथा उद्धार गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

अजय जीवित र सकुशल रहेको विश्वासमा रहेकी पूजाले सामाजिक सञ्जालमार्फत भावुक अपिल गरेकी छन् । ‘तिमी जहाँ छौँ, जस्तो छौँ, मलाई खबर गर, म आफैँ आउँछु, तिमीलाई लिन । बस्, एकपटक तिम्रो आवाज सुन्न र तिमीलाई देख्न पाऊँ,’ उनले भनेकी छन् । सानी छोरीसमेत बुबाको भिडियो कल र आवाजको प्रतीक्षामा रहेको उनले बताएकी छन्। ‘हाम्रो नानी अझै बाबाको भिडियो कलको प्रतीक्षामा छिन् । बाबाको आवाज सुन्न र अनुहार हेर्न पाएकी छैनन्,’ उनले भनेकी छन् ।

Advertisement

पूजाले सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षसँग तत्काल खोज तथा उद्धार टोली परिचालन गर्न आग्रह गरेकी छन् । सम्भावित क्षेत्रमा ड्रोन प्रयोग गरी खोजी गर्नुपर्ने उनको माग छ । उनका अनुसार मैलुङ बजार, क्याम्प आसपास, ठाडेगाउँ, राम्चे, ग्राङ, बटार, कालिकास्थान, धुन्चे, भोर्ले, यार्सा र मैलुङडाँडालगायत क्षेत्रमा खोजी गर्न आवश्यक छ ।

‘हामीलाई थाहा छैन, हाम्रा प्रियजनहरू कहाँ र कुन अवस्थामा छन्। सायद कतै उद्धारको आशामा बस्नुभएको होला, सायद कसैको सहयोगको प्रतीक्षा गरिरहनुभएको होला,’ उनले भनिन्, ‘त्यसैले अब प्रश्न एउटै छ–उद्धार किन भइरहेको छैन ?’ परिवारका अनुसार उद्धार टोली पठाउने आश्वासन पाए पनि प्रभावकारी रूपमा खोजी हुन सकेको छैन । बिहान ड्रोनसहितको टोली घटनास्थलतर्फ जाने भनिए पनि दिउँसोसम्म टोली पुग्न नसकेको पूजाको गुनासो छ ।

खोजीका लागि आफू दिनभर एक कार्यालयबाट अर्को कार्यालय धाउने र फोनमार्फत अनुरोध गर्ने अवस्थामा पुगेको उनले बताएकी छन् । ‘हामी तपाईंहरूको कार्यालय धाउँदै–धाउँदै, अनुरोध गर्दागर्दै थाकिसकेका छौँ । अब के गर्ने ?’ उनले प्रश्न गरेकी छन् । पूजाले अजयको मात्र नभई मैलुङ क्षेत्रमा सम्पर्कविहीन तथा अलपत्र परेका सबै नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्न माग गरेकी छन् । ‘अब आश्वासन होइन, तत्काल उद्धार चाहिएको छ। हाम्रा मानिसहरूलाई खोजिदिनुहोस्, उद्धार गरिदिनुहोस्,’ उनले भनिन् ।

यसैबीच, भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका मधेस प्रदेशका २२० जनामध्ये ३८ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सप्तरी र बाराका एक–एक गरी दुई जनाको शव फेला परेको छ भने १८० जना अझै सम्पर्कविहीन छन् ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढीः १ हजार ३५७ को मृत्यु पुष्टि
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
परिवर्तनको आशा, परिणामको प्रतीक्षा
भोटेकोशी बाढीमा हराएका ५८७ विदेशी पर्यटक अझै फेला परेनन्
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा
अलैँचीको मूल्य प्रतिमन ८५ हजार
‘प्रतिक्रियावादी शक्तिहरू बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयासमा’
जेनजी आन्दोलनको एक वर्ष : ‘मूल मुद्दामा अपेक्षित उपलब्धि भएन’
बाढीपीडितका लागि ब्रह्माकुमारी नेपालद्वारा एक करोड एक लाख सहयोग
जेनजी आन्दोलनबारे आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×