
काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि १ हजार ४६४ सहायक कामदारको आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागका अनुसार १ हजार १३२ महिला र ३३२ पुरुष गरी उक्त संख्यामा कामदार माग गरिएको हो ।
आवेदन दिन २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११:५९ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन विभागको वेबसाइटअन्तर्गत रहेको ferms.dofe.gov.np मार्फत दिन सकिनेछ ।
छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन् । इजरायली सरकारको नियमअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ । कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ भने हप्तामा एक दिन बिदा पाउनेछन्। वार्षिक बिदा इजरायली कानुनअनुसार हुनेछ । कामदारका लागि खानाको व्यवस्था हुने छैन। बस्ने व्यवस्था भने रोजगारदाता कम्पनीले गर्नेछ, तर त्यसको खर्च कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।

























