
गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशको राजनीतिक परिदृश्य नै बदल्यो । आन्दोलनले तत्कालीन सरकारको नेतृत्व परिवर्तन गराउनुका साथै सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता, रोजगारी र राजनीतिक संस्कारमा सुधारको बहसलाई पनि केन्द्रमा ल्यायो ।
आन्दोलनपछि बनेको बालेन नेतृत्वको सरकारसँग युवाको अपेक्षा स्वाभाविक रूपमा ठूलो रह्यो । पुरानो राजनीतिक शैलीको विकल्पका रूपमा आएको सरकारबाट शासन प्रणालीमा सुधार, भ्रष्टाचार नियन्त्रण, सहज सेवा प्रवाह र युवाका लागि अवसर सिर्जना हुने अपेक्षा गरिएको थियो ।
आन्दोलनपछि सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भयो । आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि आयोग गठन भयो र विभिन्न विषयमा प्रक्रिया अघि बढे । तर एक वर्ष पुग्दा आन्दोलनले उठाएका सबै मुद्दा कार्यान्वयनको चरणमा पुगिसकेका छैनन् । कतिपय विषयमा काम अघि बढेको देखिए पनि त्यसको परिणामबारे अझै प्रश्न कायमै छन् ।
यही पृष्ठभूमिमा जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा युवाहरू अहिलेको राजनीतिक परिवर्तन र बालेन नेतृत्वको सरकारलाई कसरी हेरिरहेका छन् ? आन्दोलनले उठाएका मुद्दामा कति प्रगति भएको उनीहरूलाई लाग्छ ? र अब सरकारबाट उनीहरूको अपेक्षा के छ ? मोरङका केही युवासँगको कुराकानीमा देखिएको धारणा यस्तो छ-
‘राजनीतिक परिवर्तन भयो, संरचनागत परिवर्तन अझै अधुरो छ’

गंगा श्रेष्ठ
मेरो विचारमा जेनजी आन्दोलनले उठाएको राजनीतिक परिवर्तनको माग धेरै हदसम्म पूरा भएको छ। तर संरचनागत परिवर्तनको माग अझै अधुरो छ । अहिले देश बाढीको विपद्मा परेको छ र धेरैको घर क्षति भएको छ। यस्तो अवस्थामा बालेन सरकारले छिटोछरितो रूपमा सेवा प्रदान गरिरहेको देखिन्छ । बालेन सरकारसँग मेरो अपेक्षा ठूलो थियो, किनकि उहाँ पुरानो राजनीतिक शैलीको विकल्पका रूपमा आउनुभएको हो । अहिले सरकारको दिशा र केही सुरुवाती कदम सकारात्मक देखिएका छन्। तर त्यसको परिणाम भने अपेक्षाअनुसार प्रमाणित भइसकेको छैन ।
‘शासन प्रणालीमा के फेरियो भन्ने प्रश्नको जवाफ चाहिन्छ’

दिपेन राय, जाहदा गाउँपालिका, मोरङ
गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले सरकार परिवर्तन मात्र गरेन, सुशासन, भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता र राजनीतिक संस्कार परिवर्तनको ठूलो आशा पनि जगायो । आन्दोलनपछि सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौता भयो। घटनाको छानबिनलगायत केही काम अघि बढेका छन् । तर दोषीमाथि पूर्ण कानुनी कारबाही, गोली चलाउनेको पहिचान, कार्की आयोगको प्रतिवेदन सार्वजनिक, निर्वाचन प्रणाली सुधार, पारदर्शी राजनीतिक नियुक्ति र जेनजी परिषद् गठनजस्ता महत्वपूर्ण विषय अझै स्पष्ट परिणामको प्रतीक्षामा छन् ।
छ महिनाको अनुसन्धानपछि ९०७ पृष्ठको प्रतिवेदन सरकारलाई बुझाइएको छ । तर उक्त प्रतिवेदन अहिलेसम्म पूर्ण रूपमा सार्वजनिक गरिएको छैन । बालेन सरकारले भने प्रतिवेदनका आधारमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउसमेत परेका छन् ।
बालेन सरकारसँग मेरो अपेक्षा अझ ठूलो थियो । भ्रष्टाचारमा सम्झौता नगर्ने, योग्यताका आधारमा नियुक्ति गर्ने, सरकारी सेवा सहज बनाउने, युवालाई देशमै अवसर दिने र पुरानो राजनीतिक संस्कार तोड्ने अपेक्षा थियो । सरकारले सुधारका केही योजना र सकारात्मक कदम अघि सारेको छ, तर योजना र वास्तविक परिणामबीच अझै दूरी देखिन्छ ।
भ्रष्टाचारमा निष्पक्ष कारबाही, पारदर्शी नियुक्ति, पीडितलाई न्याय, निर्वाचन सुधार र युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित भए मात्र जेनजी आन्दोलनको भावना सार्थक हुनेछ । हामीले आन्दोलन गरेर सरकार त फेर्यौँ, अब हाम्रो जीवन र शासन प्रणालीमा के फेरियो भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्छ ।
‘सकारात्मक प्रयासलाई साथ दिँदै खबरदारी गर्नुपर्छ’

प्रशन्न पोखरेल
गत वर्ष भदौ २३ र २४ गतेको घटनापछि देशमा नयाँ राजनीतिक परिस्थिति निर्माण भयो । त्यसपछि बनेको सरकारले जेनजी पुस्ताले उठाएका सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, रोजगारी र जवाफदेहिताजस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको थियो ।
मेरो बुझाइमा, जेनजीले उठाएका सबै माग एकैपटक र पूर्ण रूपमा सम्बोधन भइसकेका छैनन् । तर केही महत्वपूर्ण विषयमा सरकारले थालेका पहल सकारात्मक छन् । पुरानो राजनीतिक शैलीभन्दा बाहिर गएर परिणाममुखी काम गर्ने प्रयास हुनु आफैंमा राम्रो सुरुवात हो। जेनजी आन्दोलनको मूल भावना परिवर्तन, सुशासन र जवाफदेहितासँग जोडिएकाले त्यसलाई संस्थागत गर्न केही समय लाग्नु स्वाभाविक पनि हो ।
बालेन नेतृत्वको सरकारसँग मेरो अपेक्षा निकै ठूलो थियो- भ्रष्टाचारमा शून्य सहनशीलता, पारदर्शी शासन, सेवा प्रवाहमा सुधार, युवालाई देशमै अवसर र राजनीतिक संस्कारमा परिवर्तन । अहिलेसम्मको परिणाम हेर्दा सबै अपेक्षा पूरा भइसकेको अवस्था छैन । यद्यपि केही सकारात्मक संकेत देखिएका छन् । अबको चुनौती भनेको ती प्रतिबद्धतालाई घोषणामा सीमित नराखी दीर्घकालीन नीति, कानुनी सुधार र व्यवहारमा देखिने परिणाममा रूपान्तरण गर्नु हो ।
समग्रमा, अहिलेका प्रयासलाई निराश भएर अस्वीकार गर्नुभन्दा सकारात्मक कामलाई साथ दिँदै अझ राम्रो परिणामका लागि रचनात्मक दबाब दिनुपर्छ भन्ने मेरो धारणा छ । जेनजी आन्दोलनले उठाएका मूल मुद्दा सम्बोधन हुनु कुनै एक व्यक्ति वा सरकारको सफलता मात्र होइन, देशको राजनीतिक र प्रशासनिक संस्कारमा आएको परिवर्तन हो । त्यसैले सरकारलाई सकारात्मक काममा साथ दिँदै जनताका अपेक्षा पूरा गर्न निरन्तर खबरदारी गर्नु अहिलेको सही बाटो हो ।
‘राजनीतिक परिवर्तन भयो, प्रणालीगत परिवर्तन अझै बाँकी छ’

विद्या खनाल
मेरो मूल्याङ्कनमा जेनजी आन्दोलनले राजनीतिक परिवर्तन ल्यायो, तर पूर्ण प्रणालीगत परिवर्तन गर्न अझै सकेको छैन । बालेन नेतृत्वको सरकार त्यही परिवर्तनलाई संस्थागत गर्ने ठूलो अवसर लिएर आएको हो । तर अहिलेसम्मको परिणाम हेर्दा अपेक्षा जति ठूलो थियो, उपलब्धि त्यति स्पष्ट र पर्याप्त देखिएको छैन ।
अबको सबैभन्दा ठूलो परीक्षा बालेन सरकारकै हो- यसले पनि पुरानै राजनीतिक संस्कार दोहोर्याउँछ कि वास्तवमै नयाँ शासन प्रणालीको उदाहरण बन्छ ? यही आधारमा सरकारको वास्तविक मूल्याङ्कन हुनेछ ।
‘आन्दोलनले चेतना ल्यायो, तर ठोस परिणाम अझै टाढा छ’

दिपेन खड्का
हामीले परिवर्तनको ठूलो आशा र जोसका साथ आवाज उठाएका थियौँ । आन्दोलनको एक वर्ष बितिसक्दा पनि हाम्रा मुख्य मुद्दा- रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचारको अन्त्य र प्रणालीगत सुधारमा अपेक्षाअनुसार उपलब्धि हुन सकेको छैन । नेतृत्व फेरिए पनि सोच र काम गर्ने शैली पुरानै रहेको देखिन्छ ।
आन्दोलनले चेतना र जागरण भने ल्याएको छ। तर हामीले चाहेको वास्तविक र ठोस परिवर्तन अझै टाढा देखिन्छ । त्यसैले आन्दोलनले उठाएका मुद्दा ओझेलमा नपरून् र परिवर्तन भाषणमा मात्र सीमित नरहोस् भन्नेमा हामी अझै चनाखो हुनुपर्छ ।

























