
विराटनगर । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र सरकारको कार्यशैलीको विरोधमा २०८२ साल भदौ २३ गते सुरु भएको जेनजी आन्दोलन कोशी प्रदेशका प्रमुख सहरमा पनि फैलिएको थियो ।
विराटनगरमा प्रदर्शन तुलनात्मक रूपमा शान्तिपूर्ण रहे पनि सुनसरीको इटहरी तथा झापाको दमक र बिर्तामोडमा भने आन्दोलन उग्र बनेको थियो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर सुनसरीको इटहरीमा प्रदर्शनकारीको मृत्यु भएको थियो । भदौ २३ गते कोशी प्रदेशमा जेनजी आन्दोलनको स्वरूप फरक–फरक देखाएको थियो ।
विराटनगरमा बिहानदेखि नै प्रदर्शन सुरु भए पनि अवस्था तुलनात्मक रूपमा शान्त थियो । मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कार्की आयोगलाई दिएको बयान अनुसार विराटनगरमा करिब ७ सयदेखि १ हजार जनाको सहभागितामा प्रदर्शन भएको थियो । प्रदर्शनमा मुख्यतः प्लस टु तथा कलेज तहमा अध्ययनरत विद्यार्थी र युवा सहभागी थिए ।
प्रदर्शनकारीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र सरकारको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए । विराटनगरको संसारी माइस्थानबाट सुरु भएको प्रदर्शन ट्राफिक चोक हुँदै रोडशेष चोक पुगेको थियो ।
प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ अघि बढ्न खोजेपछि प्रहरीले मूल सडकमा ब्यारिकेड लगाएर उनीहरूलाई रोकेको थियो । ब्यारिकेड अगाडि केही समय नाराबाजी गरेपछि प्रदर्शनकारी प्रदेशसभा सचिवालयतर्फ पुगे । प्रदेशसभा गेटअगाडि पनि नाराबाजी गरिएको थियो । तर, विराटनगरमा तोडफोड, आगजनी वा प्रहरीसँग झडप भएन ।
विराटनगरको तुलनामा इटहरीमा भने बिहानैदेखि प्रदर्शनको आकार ठूलो हुँदै गएको थियो । बिहान करिब १०ः४० बजे इटहरीको गोलचोकमा जेनजी आन्दोलनकारी भेला भएका थिए । सुरुवातमा थोरै संख्यामा रहेका प्रदर्शनकारीको संख्या केही समयमै ४ देखि ४ हजार ५ सयसम्म पुगेको विवरणमा उल्लेख छ ।
नगर परिक्रमा गर्दै अघि बढेको प्रदर्शन सुरुमा शान्तिपूर्ण भए पनि पछि भिडमा केही व्यक्तिले ढुंगा, ग्याटिस, फलामे रड, घरेलु हतियार तथा पेट्रोल भरिएका बोतल बोकेपछि अवस्था बिग्रिँदै गएको थियो । प्रदर्शनकारी इटहरी उपमहानगरपालिका कार्यालयतर्फ अघि बढेपछि तनाव थप बढ्यो ।
भिड उपमहानगरपालिका कार्यालयभित्र प्रवेश गरेपछि तोडफोड र आगजनी भएको थियो । दमकल, मेयरको कार्यकक्ष तथा जिन्सी शाखालगायतका स्थानमा आगजनी भएपछि कर्मचारी र जनप्रतिनिधि भागेर ज्यान जोगाउन बाध्य भएका थिए ।
आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले केही युवालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा लगेपछि प्रदर्शनकारी प्रहरी कार्यालयतर्फ पुगे । त्यस क्रममा प्रहरीमाथि ढुंगामुढा, तोडफोड र पार्किङमा राखिएका सवारीसाधनमा क्षति पुर्याउनुका साथै हिरासतमा रहेका व्यक्तिलाई जबर्जस्ती छुटाउने प्रयास भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाइफायर, अश्रुग्यास र लाठीचार्ज गरेको थियो । तर, प्रदर्शनकारीले प्रहरी कार्यालय नै नियन्त्रणमा लिन खोजेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो ।
तनाव नियन्त्रणमा नआएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दिउँसो ३ः३० बजेदेखि इटहरी उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु जारी गरिए पनि प्रदर्शनकारीको गतिविधि पूर्ण रूपमा रोकिएन ।
इलाका प्रहरी कार्यालय इटहरीमाथि समेत आक्रमण भएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भयो । गम्भीर अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका मोहन सरदार र अभिषेक श्रेष्ठलाई चिकित्सकले अस्पताल पुर्याएलगत्तै मृत घोषणा गरेका थिए ।
इटहरीको झडपमा अन्य प्रदर्शनकारी पनि घाइते भएका थिए । घाइतेमध्ये १७ वर्षीय आशिष चौधरी, १९ वर्षीय सान्तनु ढकाल, १६ वर्षीय अनमोल पन्त र १६ वर्षीय सम्झना विकलाई मोरङको विराट शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको थियो । घाइतेमध्ये सान्तनु ढकालको अवस्था गम्भीर रहेको थियो ।
उता झापाको दमकमा पनि बिहानैदेखि प्रदर्शन सुरु भएको थियो । बिहान करिब १०ः३५ बजे करिब २ सय जनाको समूह प्रदर्शनमा निस्किएको थियो । प्रदर्शनकारीले दमक नगरपालिकाको गेट तथा सीसीटीभीमा तोडफोड गरेपछि अवस्था तनावपूर्ण बनेको थियो ।
नगरपालिका क्षेत्रमा प्रवेश गरेर प्रदर्शनकारीले आगजनी गरेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको रबरको गोली लागेर कमल गाउँपालिका–५ का प्रकाश भट्टराई घाइते भएका थिए । तिघ्रामा चोट लागेपछि उनलाई दमक अस्पताल लगिएको थियो ।
दमकको प्रदर्शन नगरपालिका क्षेत्रबाट प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित निवासतर्फ समेत अघि बढेको थियो । प्रहरीले निवासतर्फ जानबाट प्रदर्शनकारीलाई रोकेको थियो । त्यस क्रममा निवासबाट करिब एक सय मिटर टाढाबाट प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए ।
दमकमा भएको झडपमा गोली लागेका तीन जनालाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उनीहरू तीनै जनालाई गोली लागेको थियो ।
झापाकै बिर्तामोडमा पनि प्रदर्शनकारीको संख्या केही समयमै ठूलो भएको थियो । मुक्तिचोक नजिक सुरुवातमा करिब ५ सय ५० जना भेला भएकोमा केही समयमै संख्या बढेर करिब ५ हजार पुगेको विवरणमा उल्लेख छ ।
प्रदर्शनकारीले बिर्तामोड नगरपालिका कार्यालयमा ढुंगामुढा गर्दै झ्यालका सिसा फुटाएका थिए । उपमेयर तथा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्कन नदिई बन्धक बनाउने प्रयाससमेत भएको थियो ।
नगरपालिका कार्यालयमा तोडफोड र आगजनी भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो भने केही राउन्ड गोलीसमेत चलाएको जनाएको थियो ।
साँझतिर बिर्तामोडको मुक्तिचोकमा भेला भएको समूहले ट्राफिक प्रहरी कार्यालयमा समेत आगजनी गरेको थियो । आयोगको प्रतिवेदनमा उक्त क्रममा ग्यास सिलिन्डरसमेत विस्फोट गराइएको उल्लेख छ ।
झापामा भएको घटनामा आन्दोलनमा बाहिरी समूह तथा आपराधिक पृष्ठभूमिका व्यक्तिको घुसपैठ भएको विषय पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । दमकस्थित इलाका प्रहरी कार्यालयमा पुगेको अराजक समूहले प्रहरीमाथि आक्रमण गरी प्रहरीका हतियार, गोलीगट्ठा, बन्दोबस्तीका सामान र प्रहरी पोसाकसमेत लुटेर लगेको प्रतिवेदनमा उल्लेख छ ।
लुटिएका प्रहरी हतियारबाट आन्दोलनकारीकै समूहबाट फायरिङ भएकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । ठूलो संख्यामा प्रदर्शनकारी सडकमा रहेका कारण थप सुरक्षाकर्मी तथा अश्रुग्यासका सेल तत्काल घटनास्थलमा पठाउनसमेत कठिन भएको प्रशासनको भनाइ थियो ।
भदौ २३ गते कोशी प्रदेशका तीन प्रमुख क्षेत्रमा आन्दोलनको स्वरूप फरक देखियो । विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएन । इटहरीमा सरकारी कार्यालयमा आगजनी र प्रहरी कार्यालयमाथि आक्रमणपछि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भयो । झापामा भने दमक र बिर्तामोडमा सरकारी तथा प्रहरी संरचनामाथि आक्रमण, आगजनी र तोडफोडसँगै प्रहरीका हतियारसमेत लुटिए ।
आयोगको प्रतिवेदनले झापा र सुनसरीमा आन्दोलन उग्र बन्नुमा विभिन्न समूहको घुसपैठ भएको विषयसमेत औँल्याएको छ । प्रतिवेदनमा केही राजनीतिक दलसँग आबद्ध व्यक्ति, विभिन्न हिन्दु धार्मिक अतिवादी सोच भएका व्यक्ति तथा दुर्गा प्रसाईंसहितका स्वार्थ समूहको संलग्नताका बारेमा उल्लेख गरिएको छ ।
आन्दोलनको नेतृत्व गरिरहेका जेनजीका केही नेताले समेत स्थिति आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रहरीसँग सुरक्षाको आग्रह गरेको विवरणमा उल्लेख छ । भदौ २३ गतेको घटनाले जेनजी आन्दोलनको पहिलो दिनमै कोशी प्रदेशका विभिन्न जिल्लामा प्रदर्शनको अवस्था समान नरहेको देखाएको थियो ।
एकातिर विराटनगरमा नाराबाजी र ब्यारिकेडसम्म सीमित प्रदर्शन थियो भने अर्कोतर्फ इटहरी र झापामा सरकारी संरचनामाथि आक्रमण, आगजनी र प्रहरीसँग प्रत्यक्ष भिडन्त भएको थियो । रातिसम्म इटहरी, दमक र बिर्तामोडको अवस्था तनावपूर्ण रहँदा थप सुरक्षाकर्मी परिचालन गर्नु परेको थियो ।

























