
काठमाडौं । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । दुवै सदनको बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा सरकारी पत्रसम्बन्धी विषय कार्यसूचीमा राखिएका छन् ।
प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यसैगरी, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सभासमक्ष पेस गर्नेछिन् । प्रतिनिधिसभाको बैठकमा एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावसमेत पेस गर्ने तयारी छ । उक्त प्रस्ताव पनि कानुनमन्त्री गौतमले नै सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
उता, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ ।
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन राष्ट्रियसभा बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ । राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्का सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पनि जानकारी गराउनेछन् ।
यसैबीच, संघीय संसद्अन्तर्गत अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकसमेत बस्दैछ । समितिका बैठकमा सम्बन्धित विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।



















