सुनसरीमा दुर्घटना : रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार ०६:४३

विराटनगर । सुनसरीका अलगअलग स्थानमा मंगलबार दुर्घटना हुँदा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटना दुहबी र धरानमा भएका हुन् ।

दुहबी नगरपालिका–११ स्थित सिमरबना पुलस्थित भित्री सडक खण्डमा शुक्रबारबारेबाट नहरतर्फ जाँदै गरेको बा ७५ प ३११० नम्बरको मोटरसाइकल साँझ ७ः१० बजेतिर दुर्घटनामा परेको थियो । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा सुनसरीको गढी गाउँपालिका–२ घर भएका ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको छ ।

Advertisement

मोटरसाइकलसहित चालक थान्दार सिमरबना पुलबाट करिब १५ मिटर तल खसेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल पठाइएको थियो ।

अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको डीएसपी खड्काले बताए । थान्दार रेडियो नेपालका प्राविधिक अधिकृत रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको साथबाट प्राविधिक अधिकृतको परिचयपत्र पनि फेला परेको छ ।

दुर्घटनाको कारण खुल्न सकिरहेको छैन । यद्यपि, सडकमा ध्यान नदिँदा र तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।

त्यस्तै, कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–८ गुराँस चोकमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ८ प ३३३३ नम्बरको मोटरसाइकलले आफ्नै साइडमा रोकेर राखिएको प्रदेश १–०२–००४ ह ३५०४ नम्बरको सफारीलाई दिउँसो २ः४५ बजेतिर पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरेको मृत्यु भएको छ । गम्भीर घाइते भएका घिमिरेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारका क्रममा राति ९ः४० बजेतिर चिकित्सकले मृत घोषणा गरिदिएको डीएसपी खड्काले बताए । सिटी सफारी र चालक धरान–५ का ३८ वर्षीय रचन मगरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×