
झापा । झापाको भद्रपुरमा मार्वलले थिचिएर एक जना निर्माण मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं महानगरपालिकाको कोटेश्वर राममन्दिर बस्ने ३१ वर्षीय राजेन्द्र खड्का रहेका छन् ।
प्रहरीका अनुसार भद्रपुर नगरपालिका–५ स्थित सूर्य प्लाइउड फ्याक्ट्रीमा निर्माणाधीन नयाँ भवनमा काम गर्ने क्रममा मंगलबार दुर्घटना भएको हो । भवनमा प्रयोगका लागि ल्याइएको मार्वल मे १ ज २२१८ नम्बरको बोलेरो पिकअपबाट अनलोड गर्ने क्रममा अचानक मार्वल खड्काको शरीरमाथि खसेर थिचेको थियो ।
मार्वलले थिचिएपछि गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

























