भदौ २३ र २४ का घटनाका गम्भीर प्रश्न अझै अनुत्तरित छन् : भण्डारी

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार ०९:०२

काठमाडौं। पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले गत वर्ष भदौ २३ र २४ गते भएका घटनासँग सम्बन्धित कतिपय गम्भीर प्रश्न अझै अनुत्तरित रहेको बताएकी छन्।

विज्ञप्ति जारी गर्दै भण्डारीले भदौ २३ गते भएको मानवीय क्षति र त्यसको भोलिपल्ट भएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिलाई एउटै प्रकृतिका घटनाका रूपमा बुझ्न नहुने धारणा व्यक्त गरेकी हुन् । एक वर्ष बितिसक्दा पनि ती घटनाको समग्र प्रकृति र त्यसमा संलग्न पक्षहरूको भूमिकाबारे पूर्ण रूपमा निरूपण हुन नसकेको उनको भनाइ छ ।

Advertisement

राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरिसकेको भए पनि सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन भने औपचारिक रूपमा सार्वजनिक नभएको भण्डारीले उल्लेख गरेकी छन् । सञ्चारमाध्यममार्फत प्रतिवेदनका केही विवरण सार्वजनिक भए पनि घटनासँग सम्बन्धित महत्वपूर्ण प्रश्न अझै स्पष्ट हुन बाँकी रहेको उनले बताएकी छन् ।

भण्डारीले न्यायलाई राजनीतिक प्रतिशोधको माध्यम बनाउन नहुनेमा जोड दिँदै प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउनुपर्ने तथा निर्दोषमाथि अन्याय हुन नदिनुपर्ने बताएकी छन् । ‘राज्यका निकाय हुन् वा आन्दोलनमा सहभागी नागरिक, कानुन सबैका लागि समान हुनुपर्छ,’ उनले भनेकी छन् ।

नयाँ पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहिताका मागलाई आफूले सकारात्मक रूपमा लिएको भण्डारीले बताएकी छन् । नागरिकका आवाज र असहमतिलाई सम्मान गर्नुपर्नेमा पनि उनले जोड दिएकी छन् ।

लोकतन्त्रमा अधिकारसँगै जिम्मेवारी पनि जोडिने स्मरण गराउँदै उनले नागरिकको जीवनभन्दा ठूलो कुनै राजनीतिक माग र राष्ट्रको सार्वजनिक सम्पत्तिभन्दा ठूलो कुनै आन्दोलन हुन नसक्ने बताएकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×