
काठमाडौं । नेपाल प्रहरीले बाढीपीडितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले हिनामिना गरेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको प्रचार निराधार भएको जनाएको छ । प्रहरी प्रवक्ता अविनारायण काफ्लेले भोटेकोसी बाढीपछि रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी भ्रामक प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको बताएका छन् ।
प्रहरीद्वारा जारी विज्ञप्तिमा सुरक्षाकर्मीले राहत सामग्री आफैं लिएको, वितरण नगरेको वा सामग्री सडेर गएकोजस्ता दाबी तथ्यहीन रहेको उल्लेख छ । विपद्का बेला ज्यानको प्रवाह नगरी खोज, उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने तथा नागरिकमा अविश्वास सिर्जना गर्ने गरी गरिएका यस्ता प्रचार दुःखद र गैरजिम्मेवारपूर्ण भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता काफ्लेले संवेदनशील अवस्थामा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र भ्रम सिर्जना गर्ने अपुष्ट सूचना प्रचार नगर्न आग्रह गरेका छन् । नेपाल प्रहरी विपद्का बेला नागरिकको जीवन रक्षा, खोज तथा उद्धार र मानवीय सेवामा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।



















