बिपी कोइरालाको ११३औँ जन्मजयन्ती मनाइँदै

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १०:४५

काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११३औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

विसं १९७१ भदौ २४ गते जन्मिएका कोइरालाले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि लामो संघर्ष गरेका थिए । भारत निर्वासनका क्रममा उनले भारतीय स्वतन्त्रता संग्राममा समेत सहभागिता जनाएका थिए । राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले उनको नेतृत्वमा विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । पछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भई नेपाली कांग्रेस गठन भएको थियो ।

Advertisement

विसं २००७ को क्रान्तिपछि बनेको राणा–कांग्रेस सरकारमा गृहमन्त्री बनेका कोइराला विसं २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत पाएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । उनको नेतृत्वमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई राजनीतिक आधार बनाउँदै बिर्ता उन्मूलन तथा भूमि सुधारका कार्यक्रम अघि बढाइएका थिए ।

विसं २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेपछि कोइरालालाई पक्राउ गरी सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । स्वास्थ्य परीक्षणका लागि विसं २०२५ मा जेलमुक्त भएपछि उनी आठ वर्ष भारतमा निर्वासनमा बसे । राष्ट्रियता कमजोर हुँदै गएको निष्कर्षसहित उनले विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

विसं २०३७ को जनमतसंग्रहपछि आएको परिणामलाई स्वीकार गरेका कोइरालाको विसं २०३९ साउन ६ गते क्यान्सरका कारण निधन भएको थियो । उनले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति नेपाली राजनीतिमा अझै चर्चामा रहने गरेको छ ।

राजनीतिसँगै नेपाली साहित्यमा पनि कोइरालाको महत्वपूर्ण योगदान छ । उनलाई नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रूपमा लिइन्छ । उनका ‘तीन घुम्ती’, ‘मोदीआइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ उपन्यास तथा ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ कथासंग्रह प्रकाशित छन् ।

उनका आत्मवृत्तान्त, ‘जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’ जस्ता कृतिले उनको राजनीतिक जीवन र तत्कालीन नेपालको राजनीतिक अवस्थालाई समेत अभिलेख गरेका छन् ।

बिपीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी संग्रहालयका रूपमा उद्घाटन गरिएको थियो। संग्रहालयमा उनका जीवनसँग सम्बन्धित सामग्रीसँगै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर तथा विसं २०३० मा नेपाली कांग्रेसले क्रान्तिका लागि आर्थिक स्रोत जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमानसमेत राखिएको छ ।

बिपी जयन्तीका अवसरमा नेपाली कांग्रेस, उसका भ्रातृ तथा शुभेच्छुक संस्था र बिपी संग्रहालयले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×