
विराटनगर । मोरङको बूढीगंगामा १० दिनअघि आगोले जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका–४ प्रगति टोलकी ४६ वर्षीया सुष्मा भण्डारीको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार आफ्नै घरको भान्साकोठामा भदौ १५ गते बिहान ६ बजेतिर चिया पकाउनका लागि ग्यास बाल्ने क्रममा अचानक ग्यास लिक भएर शरीरमा आगो सल्किएर सुष्मा गम्भीर घाइते भएकी थिइन् ।
आगोले टाउको, अनुहार, बाँया हात र दुवै खुट्टामा चोट लागेर घाइते भएकी उनको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा बुधबार बिहान ७ः५० बजेतिर सुष्माको मृत्यु भएको जानकारी मिश्रले दिए ।
सुष्माको शरीरमा लागेको आगो निभाउने क्रममा उनका पति ५० वर्षीय केशव भण्डारी पनि घाइते भएका थिए । सामान्य अवस्थाका केशवको विराटमै उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

























