वर्षा र पहिरोले पृथ्वी राजमार्गसहितका सडक अवरुद्ध

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार ०८:३५

काठमाडौं। अविरल वर्षापछिको बाढी र पहिरोले मुलुकका विभिन्न राजमार्ग तथा सडक खण्डहरू आज (बिहीबार) पनि अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक सञ्जाल प्रभावित बनेका हुन्।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ विस्पानीमा पहिरो खस्दा काठमाडौं-धादिङ सडक खण्डमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा गएको पहिरोले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। त्यस्तै, धादिङकै थाक्रे गाउँपालिका-९ को सोयाङखोलामा पहिरो जाँदा त्रिभुवन राजपथ पनि बन्द छ। सोही गाउँपालिकाको ज्वाङखोला क्षेत्रमा भने सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

Advertisement

रसुवामा भदौ १० गते आएको बाढीका कारण उत्तरगया गाउँपालिका-५ को त्रिशूली मेलुङ-स्याफ्रुबेँसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा पहिरोले टोखा-छहरे सडक खण्ड अवरुद्ध भएको छ भने बेलकोटगढी नगरपालिका क्षेत्रका सडकहरू पनि बाढीका कारण प्रभावित बनेका छन्।

काभ्रेको खुकुर्ट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा भने सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सवारी आवागमन व्यवस्थापन गरेको छ। प्रहरीका अनुसार १० टनभन्दा कम क्षमताका मालवाहक सवारी साधनलाई निश्चित समयमा मात्र सञ्चालन गर्न दिइनेछ। अन्य सवारी साधनको हकमा भने स्थलगत परिस्थिति र सुरक्षा अवस्था हेरेर निर्णय लिइने प्रहरीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×