
रंगेली । मोरङको रंगेली नगरपालिका–७ स्थित श्री सन्सारीमाई मन्दिरले संकलन हुने दैनिक भेटी तथा अन्य आम्दानीको विवरण सार्वजनिक गर्न थालेको छ ।
सन्सारीमाई मन्दिर व्यवस्थापनले मन्दिरको आधिकारिक फेसबुक पेजमार्फत अघिल्लो दिनको भेटी तथा आम्दानीको विवरण सार्वजनिक गर्ने व्यवस्था सुरु गरेको हो । नगरपालिकाका प्रशासकीय अधिकृत प्रदीपकुमार साहसहित पाँच पदाधिकारीको नेतृत्वमा रहेको व्यवस्थापनले मन्दिरको आर्थिक कारोबारलाई पारदर्शी बनाउन यस्तो अभ्यास थालिएको जनाएको छ ।
सोमबार संकलन भएको भेटी तथा अन्य आम्दानीको विवरण मंगलबार सार्वजनिक गरिएको छ । अब प्रत्येक दिन अघिल्लो दिनको आय–व्यय तथा आम्दानीको विवरण सामाजिक सञ्जालमार्फत भोलिपल्ट सार्वजनिक गरिने मन्दिर व्यवस्थापनले जनाएको छ ।
मन्दिरले सार्वजनिक गरेको विवरणअनुसार सोमबार भेटीबाट १२ हजार ९१० रुपैयाँ, सहयोगबाट ८ हजार ५२१ रुपैयाँ, बजारबाट १२ हजार ७५० रुपैयाँ र ४२ वटा बोकाको बलिबाट १० हजार ५०० रुपैयाँ आम्दानी भएको छ । उक्त दिन मन्दिरको कुल आम्दानी ४४ हजार ६८१ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
मन्दिरमा संकलन हुने भेटी तथा अन्य आम्दानीको विवरण नियमित रूपमा सार्वजनिक गर्ने अभ्यासले आर्थिक कारोबारमा पारदर्शिता कायम हुनुका साथै भक्तजन तथा सर्वसाधारणमा मन्दिर व्यवस्थापनप्रति विश्वास बढ्ने प्रमुख प्रशासकीय अधिकृत साहले बताए ।



















