जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः प्रचण्ड

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार १४:२४

जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमाल पग्लिने विषयलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका दाहालले आज (बिहीबार) बिहान हिमाल पग्लिने समस्या वातावरणीय विषयमा मात्र सीमित नरहेको बताए । यो मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ थियो ।

‘म दोस्रो र तेस्रोपटक प्रधानमन्त्री भएका बेला यो विषयलाई थुप्रै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाएको थिएँ,’ दाहालले भने, ‘अहिले पनि यस विषयमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्छ ।’ जलवायु परिवर्तनका कारण हिमाल तीव्र गतिमा पग्लिँदै जानु मानव अस्तित्वकै लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै उनले यसको असर हिमाली क्षेत्रमा मात्र सीमित नरहेको बताए । जलवायु परिवर्तनले मानव जीवन, कृषि, पानीका स्रोत, जैविक विविधता र समग्र अर्थतन्त्रमा समेत असर पारिरहेको उनको भनाइ थियो ।

Advertisement

यसैबीच, दाहालले भोटेकोशी नदीमा बाढी आएका बेला सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि सरकारले अन्तर्राष्ट्रिय समुदाय, सम्बन्धित क्षेत्रका विज्ञ तथा उद्धार टोलीको सहयोग प्रभावकारी रूपमा लिन नसकेको बताएका छन् । सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको तत्काल प्रयोग गर्न सके धेरैको ज्यान जोगाउन सकिने अवस्था रहे पनि सरकारले त्यसतर्फ पर्याप्त पहल गर्न नसकेको उनको आरोप थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×