
इलाम । मेची राजमार्गअन्तर्गत इलामको पुवा खोलामा निर्माण भइरहेको ७० मिटर लामो मोडुलर ब्रिजलाई दुवैतर्फ टेकाउने काम आज (बिहीबार) बिहान सम्पन्न भएको छ । अब डेक स्ल्याब, बेयरिङमा पुल राख्ने र ब्याकवाल ढलानलगायतका काम सम्पन्न गरेपछि करिब एक साताभित्र पुलबाट सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ ।
सडक डिभिजन कार्यालय इलामका इन्जिनियर पवन भट्टराईका अनुसार पुलको मुख्य संरचना दुवैतर्फ टेकाउने काम सकिएको छ । बाँकी काम तीव्र गतिमा अघि बढाइएकाले एक साताभित्र सवारीसाधनका लागि पुल खुला गर्ने तयारी भइरहेको छ ।
पुवा खोलामा यसअघि रहेको पुल बाढीका कारण क्षतिग्रस्त भएपछि यहाँ नयाँ मोडुलर ब्रिज निर्माण गरिएको हो । बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पूर्वाधार पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएका प्रिफ्याब्रिकेटेड स्टिल ब्रिजमध्ये पुवा खोला पुल पनि एक हो ।
पुल सञ्चालनमा आएपछि मेची राजमार्गको यस खण्डमा आवागमन सहज हुने अपेक्षा गरिएको छ । यसअघि पुवा खोलाको पुल क्षतिग्रस्त हुँदा यात्रु तथा मालवाहक सवारीसाधनलाई आवागमनमा समस्या हुँदै आएको थियो ।

























